दमक,१९ चैत । बाँझोपना अर्थात निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औल्याएका छन् । जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, बैदेशिक रोजगारको कारण दम्पत्तीबीच पर्याप्त सम्भोगको अभाव र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निःसन्तानको समस्या बढी हुने गरेको चिकित्सकहरुको भनाई छ ।
दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसुति सेवा दिदैआएको ॐ मेची अस्पतालका स्त्री रोग विशेषज्ञ डा. शंकरप्रसादन हुजदारले निःसन्तान हुने समस्या बढेको बताए । उनका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्या देखिने गरेको छ । ति मध्ये करिब ७ प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात बाँझोपनाको कारणनै पत्ता लाग्न नसकिरहेको पनि हुजदारको भनाई छ । उनले स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदाहुँदै पनि सन्तान नहुने समस्या देखिएको र त्यसका कारण यहिनै हो भन्ने यकिन अझै नहुन नसकेको बताउँछन् । यो अलि अप्ठ्यारो बिषय पनि भएको बताउदै उनले भने, –‘ दम्पत्तीमा निःसन्तान हुने समस्या नेपाली समाजमा बढेको छ, यसमा हाम्रो ध्यान पुग्न सकेको छैन् ’
ॐ मेची अस्पताल प्रसुति सेवा मात्र उपलव्ध गराउदैआएको जिल्लाकै एक पूरानो स्वास्थ्य संस्था हो । सो अस्पतालमा डा. हुजदारसहित अर्का स्त्री रोग विशेषज्ञ डा. निरञ्जनसिंह बोगटीसहितका आधा दर्जन चिकित्सकको टोली संलग्न छन् । सो अस्पतालले मासिक ५ सयको संख्यामा प्रसुति दिदैआएको अस्पतालका अध्यक्ष समेत रहनुभएका डा. वोगटी बताउँछन् । उनका अनुसार परीक्षणमा आएका करिव १५ प्रतिशत जतिमा दम्पत्तीमा बाँझोपनाको समस्या देखिएको छ ।
उनले हाम्रो जीवनशैलीमा आएको परिवर्तन, जंङ फूडको सेवन, मदिरापान , सुर्तिजन्य पदार्थको सेवन र असुुरक्षित यौन सम्पर्कका कारण पनि महिला तथा पुरुषमा बाँझोपनाको समस्या देखिएको बताए । किशोर अवस्थामै प्रेमीप्रेमिका बीच असुरक्षित यौन सम्पर्कका कारण पटक पटक गर्भ तुहाउने ,यौन रोग लगायतका स्वास्थ्य समस्याले पनि बाँझोपना देखिएको उनको भनाई छ । उनले सन्तान जन्माउने उमेरमा विहे नगर्ने चलन बढ्दै जानु र उमेर ढल्किदो विहे गर्ने कारणले पनि दम्पत्तीवीच बाँझोपनाले निःसन्तानको समस्या आएको हुनसक्ने बताए। निःसन्तानको समस्या न्यूनीकरण गर्न बाँझोपनाको समस्या झेल्दै आएका अभिभावकहरुले स्वास्थ्य उपचारमा जोड दिनुपर्ने उनको सुझाव छ । निःसन्तान हुन कसैको दोष नभएर आफनै समस्याका कारण यस्तो समस्या हुदैआएको भएपनि अव भने निःसन्तान हुनु नपर्ने तथा स्वास्थ्य उपचारका बैकल्पिक उपायहरु अवलम्बन गर्न सकिने उनको भनाई छ ।
निःसन्तानका लागि शिविर
दमकको ॐ मेची अस्पतालले निःसन्तान दम्पत्तीका लागि लक्षित गरि बर्षेनी निःशुल्क स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिआएको छ । भारतको सिलगुढीस्थित न्यूलाइफ फर्टीलिटी सेन्टरको प्राविधिक सहयोगमा अस्पतालले विगतका वर्षझै यसवर्ष पनि यहि चैत ३० मा एक दिने परामर्श शिविर सञ्चालनको तयारी गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका सञ्चालक डा. हुजदारले न्यूलाइफ फर्टीलिटीका दक्ष चिकित्सकहरुको प्राविधिक टोलीले निःसन्तान अभिभावकहरुलाई लक्षित गरि परामर्श शिविर सञ्चालन गरिएको जानकारी दिए । न्यूलाइफ महिला तथा पुरुषमा हुने बाँझोपन स्वास्थ्य निदानका लागि भरपर्दी स्वास्थ्य संस्था मानिन्छ ।
ॐ मेचीमा यस किसिमको स्वास्थ्य शिविर यो तेश्रो हो । शिविरबाट यस क्षेत्रका निःसन्तान अभिभावकहरुले आफनै ठाँउमा यस किसिमको विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउन शिविरको आयोजना गरिएको बताए । शिविरमा फर्टिलिटी सेन्टरका डा. प्रसेन्जीत कुमार रोय , डा.सेफली वंशल माधव लगायतका चिकित्सकहरु संलग्न हुने छन् ।