महासंघ आन्दोलित : पत्रकारहरुले दमकको इलाका प्रशासन कार्यालयमा बुझाए ज्ञापनपत्र

दमक,१८ चैत । पत्रकार शुरेस रजकको हत्यामा संलग्नलाई कारवाही माग राख्दै दमकका पत्रकारहरुले सोमबार इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रराज चापागाईमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघको आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरुले दमकको इलाका प्रशासन कार्यालयका प्रमुख चापागाईमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र महासंघका केन्द्रीय प्रतिनिधि विष्णु सुब्बा, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, महासंघका सदस्यहरु मनकुमार गदाल ,सुदिप अधिकारी, भूमिराज पराजुली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य अनिलदेव राई, प्रेस चौतारीका प्रदेश उपाध्यक्ष युवराज विवस , प्रेस चौतारीको अनुशासन समितिका सदस्य विष्णु पोख्रेल लगायतले संयुक्त रुपमा बुझाएका थिए ।
महासंघका माईपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुले पत्रकार रजकको हत्यामा संलग्न अपराधीलाई कारवाही गरि पीडित परिवारलाई न्याय दिनु पर्ने माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरि, आन्दोलनका नाममा सञ्चारसंस्थाहरुमाथि भएको आक्रमणको घटनाको निन्दा गर्दे त्यस्ता अवान्छित कार्यमा संलग्नलाई हदैसम्मको कारवाही गर्न तथा सञ्चारकर्मी र सञ्चार संस्थाको पेशागत सुरक्षामा उचित वन्दोवस्ती दिलाउन ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय प्रतिनिधि सुब्बाले पत्रकार रजकको परिवारले न्याय नपाएसम्म महासंघको जारी आन्दोलन नरोकिने चेतावनी दिए ।
सोहि कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले पत्रकारहरुले उठाएका जायज मागप्रति उद्योगी,व्यवसायीहरुको ऐक्यवद्धता भएको प्रतिवद्धता जनाए ।
ज्ञापनपत्र बुझदै कार्यालयका प्रमुख चापागाईले पत्रकार महासंघले बुझाएको ज्ञापनपत्र सरकारसम्म पुरयाँउने प्रतिवद्धता जनाए । महासंघले रजक हत्याको विरोधमा सोमबार देशभरिका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

झापाका पत्रकारले प्रजिअलाई बुझाए ज्ञापनपत्र

पत्रकार महासंघ झापाले पत्रकार रजकको हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार झापाका प्रजिअमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
भद्रपुरमा भेला भई जिल्ला प्रशासन कार्यालयमा गएका झापाली पत्रकारहरुको टोलीले प्रजिअ गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाउदै घटनाका बारेमा गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गरिएको उल्लेख छ । महासंघका जिल्ला अध्यक्ष एकराज गिरीले ज्ञापनपत्र पढेर प्रजिअ अधिकारीलाई हस्तान्तरण गरेका थिए ।ज्ञापनपत्र बुझाउन पत्रकार महासंघको कार्यसमिति, प्रतिनिधिहरु , पूर्व अध्यक्षहरु, संघ संगठनको नेतृत्व, प्रेस क्लवका अध्यक्ष तथा झापाली पत्रकारहरुको उपस्थिति रहेको थियो ।

इलामका पत्रकारले बुझाए ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ इलामले पत्रकार शुरेस रजकको हत्याको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।महासंघ शाखा अध्यक्ष भीम चापागाईं नेतृत्वको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षण पत्र बुुझाउँदै तीनकुने घटनामा जिउँदै जलाएर हत्या गरिएका पत्रकार रजकको हत्यामा संलग्न दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ ।
यसै घटनामा परी घाइते पत्रकारहरूको उपचार गर्न, मृतकको परिवारलाई क्षतिपूर्तिको व्यवस्थाको प्रवन्ध मिलाउन आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुुनी कठघरामा उभ्याएर सञ्चार माध्यम र सञ्चारकर्मीको सुुरक्षाको उचित प्रवन्ध मिलाउन महासङ्घ जोडदार माग गर्दछ, उल्लेख गरिएको छ ।

पाँचथरका पत्रकारले पनि बुझाए

नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा मार्फत पत्रकारहरूले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पत्र पठाएर प्रेस स्वतन्त्रता गतिविधि विरुद्व गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
गत चैत १५ गते पूर्व राजाका समर्थकहरूको प्रदर्शनमा रिपोर्टिङ गरिरहेकै स्थानमा आगो लगाएर हत्या गरेका पत्रकार सुरेश रजकको हत्या गम्भीर प्रकृतिको अपराध भएकाले दोशीलाई न्यायिक कारबाही गर्नुपर्ने माग महासङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासङ्घ पॉचथर शाखामा जम्मा भएर गएका पत्रकारले जिल्ला प्रशासन कार्यालय पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी डिकप्रसाद दाहाल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published.