दमकको विकासमा नगरपालिकाले माग्यो सरकारको सहयोग

दमक,१३ चैत । दमक नगरपालिकाले नगरका विभिन्न महत्वपूर्ण योजनाहरुलाई सरकारले प्राथमिकता दिन माग राख्दै सरकारका अधिकारीहरुको ध्यानाकर्षण गराएको छ ।
बुधबार काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न विभागीय मन्त्रीहरुसंग भेटवार्ता गरि नगरका महत्वपूर्ण योजनाहरुलाई उच्च प्राथमिकता दिन ध्यानाकर्षण गरिएको नगर प्रमुख रामकुमार थापाले बताए ।
नगर प्रमुख थापासहित दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, विभिन्न दलका प्रतिनिधि एवं सरोकारवालाहरुको टोलीले प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल , संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लगायत सरकारका उच्च अधिकारीहरुसँग भेटेर महत्वपूर्ण र दिर्घकालिन महत्वका योजनाहरुलाई प्राथमिकता दिन माग गरिएको नगरपालिकाले जनाएको छ ।

टोलीले दमक अस्पतालको स्तरोन्नति गर्दै ३०० शैयाको अस्पताल बनाउने योजना, पशुहाटदेखि रवि चिसापानी सडक निर्माणको योजना, दमक बहुमुखी क्याम्पस, हि.मा.बि, ढुकुरपानी मा. वि को अधुरो भवन निर्माणलाई पूर्णता दिन अधिकारीहरुको ध्यानाकर्षण गरिएको थियो ।
यसैगरि, टोलीले दमक २ मा निर्माणाधिन दमक वन वाटिका सौन्दर्यकरणको योजना, दमक सभाहलको व्यवस्थापन, रतुवा मावा नदी तटबन्धन लगायतका महत्वपूर्ण तथा दीर्घकालिन महत्व राख्ने योजनाहरुलाई सरकारको आगामी बजेट तथा कार्यक्रममा सहभागिताका लागि ध्यानाकर्षण गराएको दमक नगर उपप्रमुख भट्टराईले जानकारी दिइन् ।

टोलीमा नगर प्रमुख ,उपप्रमुखसहित राष्ट्रिय योजना आयोगकी सदस्य समेत रहेकी पूर्व दमक नगर उपप्रमुख गीता अधिकारी, नेपाली कांग्रेसका जिल्ला उपसभापति शेरबहादुर भट्टराई, नेकपा माओवादी केन्द्रका नेता गगन पुरी लगायत पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.