गौरादह ,१३ चैत । झापाको गौरादहमा आयोजित अन्तरकृयामा नेपाली कांग्रेसका नेताहरुले कांग्रेस देशकै अभिभावक दल भएकाले देशनिर्माणको अगुवाई अव फेरि कांग्रेसले गर्नुपर्ने औल्याएका छन् ।
नेपाली कोशी प्रदेशको आयोजनामा सोमबार गौरादहको वीपी स्मृति भवनमा आयोजित क्षेत्रीय स्तरिय कार्यकर्ता भेलासहित अन्तत्र्रिmया कार्यक्रममा सहभागि वक्ताहरुले लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलव्धिहरुको संस्थागत विकास संगै त्यसलाई संरक्षण गर्न कांग्रेसको अगुवाई हुनुपर्ने जोड दिएका छन् ।
पार्टीका झापा जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनीहरुले राजनीति भनेको स्वार्थ रहित सामाजिक सेवा भएको उल्लेख गर्दै राजनैतिक पार्टी, राष्ट्र र जनता प्रति उत्तरदायी हुनुपर्ने विचार राखे ।
कांग्रेस जिल्ला सभापति थेवेले भने, –‘कांग्रेसप्रति अहिले पनि नागरिकको भरोसा रहेको छ, त्यो विश्वास कायम गर्न कांग्रेसका हरेक नेता,कार्यकर्ताहरु एक भएर जनताका वीचमा जानु पर्छ ।’
भर्खरै सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा झापाका १३ वटा क्याम्पस मध्ये नेपाल बिद्यार्थी संघले ९ वटा क्याम्पसमा जितेकोले पनि कांग्रेस प्रति युवा पुस्ताको आकर्षण प्रमाणित भएको उनको भनाई थियो ।
कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गर्दै सभापति थेवेले गाउँ गाउँमा जनता संग जोडिएर काम गर्न निर्देशन दिए । अहिलेनै महाधिवेशन केन्द्रित भएर गतिबिधि गर्न नहुने उल्लेख गर्दे उनले अहिले पार्टी संगठन निर्माण संगै जनताको काममा केन्द्रित हुन आग्रह गरे ।
कांग्रेस कोशी प्रदेश संगठन बिभाग प्रमुख मदन संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति केशव पाण्डेले महाधिवेशनमा विचार समूह हुनु स्वभाविक भएपनि त्यसपछि सबैको साझा पार्टी कांग्रेस रहेको बताए । पार्टी कार्यकर्ताहरुले निराशाको कुरा गर्न नहुँने भन्दै उनले भने, ‘कांग्रेस निराशामा पनि आशा जगाउने पार्टी भएकाले नागरिकको भरोसा कांग्रेसमै रहेको छ ।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले नेपालकै अभिभावक पार्टी कांग्रेस भएकोले सबैलाई मिलाएर लैजाने दायित्व पनि कांग्रेसकै भएको चर्चा गरे । तल्लो तहमा रहेको कार्यकर्ताले गरेको मेहनेतका कारणनै पार्टी प्रति नागरिकको भरोसा रहेको उनको भनाई थियो ।
कार्यक्रममा क्षेत्र नम्बर ५ अन्तर्गत रहेका दमक, कमल, गौरादह र गौरीगञ्जका वडा सभापतिहरुले पार्टीको सांगठानिक अवस्था, क्रियाशील सदस्यता नविकरण, टोल समितिको क्रियाशिलता लगायतको बिषयमा आ–आफनो धारणा राखेका थिए । कांग्रेसले जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा यस किसिमको अन्तरकृया सम्पन्न गरिसकेको छ ।