मोरङ्गमा वन डढेलो रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन

पथरीशनिश्चरे ,११ चैत। वन डढेलोको बढ्दो जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले मोरङका विभिन्न पालिकामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
मोरङको पथरी शनिश्चरे, लेटाङमा सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयहरुको संयोजनमा जनचेतनामूलक र्याली, कोणसभा, व्यानर प्रदर्शन र अभिमुखीकरण कार्यक्रमहरू सम्पन्न भएका हुन् ।

आज सोमबार मोरङको पथरीशनिश्चरेस्थित सामुदायिक वन उपभोक्ता महासंघ नगर महासंघको आयोजनामा वन डढेलो नियन्त्रण सप्ताह कार्यक्रम सम्पन्न भएको छ । मनकामना सामुदायिक वनबाट सुरु भएको र्याली हाटखोला, भेटनरी लाइन, सिनेमाहल लाइन हुँदै शिखर चोकबाट मन्दिर लाइन भएर शान्ति सामुदायिक वनको भुल्के सिमसारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा नगर महासंघकी अध्यक्ष मैनादेवी फुयल आचार्यको अध्यक्षता रहेको थियो भने सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश महासचिव रेणुका दाहाल, प्रदेश सचिवालय सदस्य अग्नी पौडेल, जिल्ला कार्यबाहक अध्यक्ष मदन पोखरेलले आ –आफ्ना भनाई राखेका थिए ।
नगर महासंघका सचिव हेमभक्त गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
सप्ताह कार्यक्रम अन्तर्गत फायर लाइन सफा गर्ने, नमुना अभ्यास, पातपतिङ्गर हटाउने र जलाउने जस्ता गतिविधिहरू गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघका अध्यक्ष फुयलले वनमा डढेलो लाग्न नदिन स्थानीयलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय पथरीका निमित्त प्रमुख कृष्ण चोङबाङले वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपायहरू अवलम्बन गर्दै जनधन र वनको क्षति न्यूनीकरण गर्न सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरे ।

त्यस्तै, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) प्रदेश सचिवालय सदस्य अग्नी पौडेलले वन डढेलो रोकथामका लागि स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपालको संविधानअनुसार जंगलमा आगो लगाउनेलाई कानुनी कारबाही हुने चेतावनी दिए ।
कार्यक्रममा उपस्थित विभिन्न सामुदायिक वनका उपभोक्ताहरूले “डढेलोबाट वन जोगाऔं“, “जैविक विविधताको संरक्षण गरौं“ जस्ता नारा सहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सोही कार्यक्रम पथरिशनिश्चरे वडा नं २ को हरियाली सामुदायिक वन उपभोक्ता समूहले गत शनिवार कार्यक्रमका बीच सप्ताह सम्पन्न गरेको थियो। उता, लेटाङ ,कानेपोखरी, बेलबारी, लगायतका पालिकाहरूमा पनि सामुदायिक वनहरुले वन डडेलो नियन्त्रण सप्ताह कार्यक्रमहरू विभिन्न मितिमा सञ्चालन गरेका छन्।

Leave a Reply

Your email address will not be published.