दमक, १० चैत । झापाको दमकको उत्तरी क्षेत्र दुम्सेमा केही दिनयता रेबिजको प्रकोप देखिन सुरु गरेको छ । रेबिज लागेको एक कुकुरले रेबिज फैल्याएको बताइएको छ । टोलमा रेबिजको संक्रमण फैलिएपछि नगरपालिकाले उच्च शर्तकता अपनाउन आग्रह गरेको छ ।
एउटै कुकुरले गाईसहित १४ वटा चौपायालाई टोकेकोमा दुई वटा गाईको मृत्यु भएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाको पशु सेवा शाखाले मृत्यु भएको गाईको परीक्षण र अन्य पशुचौपायामा देखिएको लक्षण रेबिजको नै भएको र प्रभावित स्थानीयले सर्तमता अपनाउनु पर्ने नगर प्रमुख रामकुमार थापाले बताए ।
दमक ३ का मान बहादुर कुरुम्बाङको एउटा गाई, मनमाया राईले पालेको गोरु लगायतका पशुचौपायाहरुको मृत्यु भएको हो । रविन आङदेम्बेले पालेको गाईको अवस्था नाजुक भएपछि बेग्लै राखिएको बताएको छ । कुकुरले टोकेर घाईते भएका र रेबिजको आंशका भएका सबै गाईबस्तुहरुलाई निगरानीमा राख्न नगरपालिकाको पशु सेवा शाखाले किसानहरुलाई आग्रह गरेको छ ।
नगर प्रमुख थापाले पशुचौपायाबाट मानिसमा रेबिजको संक्रमण नफैलियोस भनेर उक्त टोलका ३२ जनालाई सरकारी दमक अस्पतालमा रेबिज विरुद्धको खोप लगाउन थालिएको जानकारी दिए । रेबिज फैलिएको बस्तीका सबैलाई निशुल्क रुपमा खोप हान्ने व्यवस्था मिलाईएको र प्राविधिक टोली पनि खटाईएको उनको भनाई छ।