दमक,१० चैत । झापाको दमकमा आज भारत, आसामका नेपालीभाषी साहित्यकार डम्बर दाहालसहित पाँच जना श्रष्टाहरु पुरस्कृत भएका छन् ।साहित्य कला संगमले आज दमकमा एक कार्यक्रमबीच दाहालसहित पाँच जनालाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरेको हो । साहित्यका क्षेत्रमा क्रियाशील यस संस्थाले बर्षेनी श्रष्टा सम्मान कार्यक्रम गरिआएको छ ।
यसरी पुरस्कृत हुनेमा भवानी मिश्र पुरस्कारबाट दाहालसहित झापाका डा. देवी नेपाल र संखुवासभाका ताराबहादुर बुढाथोकी, साहित्यकला श्री पुरस्कारबाट दमककी कमला खनाल र तुलसादेवी न्यौपाने स्मृति पुरस्कार मोरङकी रेखा सुवेदीलाई प्रदान गरिएको संगमका कोषाध्यक्ष ओम खनालले जानकारी दिए ।
सबै पुरस्कारको राशी जनही रु ३५ हजार र साथमा स्मृति चिन्ह र सम्मान पत्र रहेको छ । उनीहरुलाई सम्मान प्रदान गदैं कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.टङ्कप्रसाद न्यौपानेले साहित्य र कलाका क्षेत्रमा अहोरात्र खटनेहरुका लागि यस किसिमको सम्मानले थप हौसला प्रदान गर्ने औल्याए ।
सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकाहरु जय आचार्य, टीका आत्रेय, गीताश्री शर्मा लगायतले रचना वाचन गरेका थिए भने सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, साहित्यकार चन्द्र भण्डारी, आसाम नेपाली साहित्य समाजका सचिव मदन थापा,उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी लगायतले शुभकामना ब्यक्त गरेका सङ्गमका महासचिव दीपक सुवेदीले जानकारी दिए ।