दमकमा व्याडमिन्टन कभर्ड हलको उद्घाटन

दमक,९ चैत । स्थानीय व्याडमिन्टन खेलाडीहरुको अगुवाईमा झापाको दमक नगरपालिका वडा न. ७ नमुना बस्तीमा निर्माण गरिएको सुविधासम्पन्न दमक नमुना व्याडमिन्टन एकाडेमी (कभर्ड हल ) को उद्घाटन गरिएको छ ।नवनिर्मित कभर्ड हलमा आज औपचारिक कार्यक्रम गरि यसको उद्घाटन गरिएको एकाडेमीका अध्यक्ष प्रकाश राईले बताए ।
कभर्ड हलको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे । कभर्ड हल निर्माणका लागि वडा कार्यालयले १० कठठा जमीन निशुल्क प्रदान गरेको थियो । सोहि जमीनमा दमक नगरपालिकासहित प्रदेश तथा संघीय सरकारको रु १ करोड ५० लाख रुपैयाको सहयोगमा कभर्ड हल तयार गरिएको एकाडेमीका सदस्य राजकुमार योङयाले बताए ।
उनका अनुसार कभर्ड हलमा व्याडमिन्टनका चार कोर्टसहित खेलाडीहरुको सुविधाका लागि अन्य आवश्यक संरचना निर्माण गरिएको छ ।
कभर्ड हल उद्घाटनमा नगर प्रमुख थापा, उपप्रमुख रेगिना भटटराई प्रसाई, दमक १ का वडाअध्यक्ष हरि न्यौपाने, ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल, पूर्व शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक भरतबाबु कार्की ,दमक खेलकुद विकास समितिका अध्यक्ष भिमराज चम्लागाई, समितिका पूर्व अध्यक्ष केन्द्र प्रसाई लगायतले कभर्ड हलको उपयोगिताको बारेमा जोड दिएका थिए । कभर्ड हलको २०७८ माघ ३ गते शिलान्यास गरिएको थियो भने त्यसका लागि व्याडमिन्टन खेलाडी टंक बस्नेतको अध्यक्षतामा सचिव प्रकाश राई र कोषाध्यक्ष दिलु सुब्बा रहेको एक निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.