पाँचथर,५ चैत । पाँचथर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेवि संघसहितको संयुक्त गठबन्धन विजयी भएको छ । भर्खरैअन्तिम परिणामअनुसार नेविसंघसहित क्रान्तिकारी,राप्रविसंगठन र संघीय विद्यार्थी युनियन (सलोराम कुमार लिङ्देन ) गठबन्धनले १ सदस्य बाहेक सबै पदमा विजयी भएको हो ।
स्ववियू सभापतिमा १९६ मत ल्याएर नेविसंघका उपेन्द थापा विजयी भए । उनका प्रतिद्धन्दी बिमला पुरीले १३७ मत ल्याईन् । चार सय ९९ मतदाता रहेको यो क्याम्पसमा दुई सय ५६ महिला र ८६ पुरुष गरी तीन सय ४२ जनाले मतदान गरेको निर्वाचन अधिकृत दुर्गाप्रसाद बरालले जानकारी दिए।
थर्पुमा अनेरास्ववियु, रविमा क्रान्तिकारी र यासोकमा नेविसंघ विजयी
पाँचथरको थर्पु क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । सुरेश माझीको नेतृत्वमा स्ववियुको नया समिति चयन भएको हो । समितिको सचिवमा इच्छाङ्सा काम्वाङ र कोषाध्यक्षमा नुमा मावोसहित तीनजना सदस्य प्रत्यक्ष तर्फबाट निर्वाचित भएका छन् ।
उता जिल्लाको रवि क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीकी पुनम लावतीको नेतृत्वमा स्ववियुका पदाधिकारी निर्वाचित भएका छन् । नव निर्वाचित समितिको सचिवमा रुपा थापा र कोषाध्यक्षमा रेसु विक निवासहित तीनजना सदस्य निर्वाचित भएका हुन् । प्रत्यक्ष तर्फबाट ३ जना सदस्य निर्वाचित भए ।
यस्तै, यासोक क्याम्पसमा नेविसंघकी तारामाया लावतीको नेतृत्वमा स्ववियु पदाधिकारी निर्वाचित भएका छन् । नवनिर्वाचित समितिको सचिवमा अञ्जु लावती र कोषाध्यक्षमा हिमादेवी भण्डारीसहित प्रत्यक्षतर्फबाट तीनजना सदस्य निर्वाचित भए ।