झापा ,२५ फागुन । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले ) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् ।
पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए । जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार पाएका थिए । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए ।राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी नै भएको थिएन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान
नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराए ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता थियो।