मिक्वाखोला ४ नम्बर वडाले निकाल्यो उपभोक्ता मूल्यसूची

ताप्लेजुङ,२३ फागुन । जिल्लाको मिक्वाखोला गाउँपालिकाको ४ नम्बर वडा कार्यालयले माछामासु र अन्नपातको उपभोक्ता मूल्य निर्धारण गरेको छ । वडाध्यक्ष सदनकुमार साँवा लिम्बूका अनुसार गएको आइतबार बसेको वडाको बैठकले उपभोग्य वस्तु र मानव श्रमको समेत मूल्य तोक्ने निर्णय गरेको हो ।
वडा कार्यालयले निर्धारण गरेको खसीको मासुको मूल्य प्रतिकिलो छ सय रुपियाँ तोकेको छ । त्यसैगरि बंगुर र सुँगुरको ४ सय, राँगाको ३ सय, बाख्राको ५ सय र र लोकल कुखुराको मासुको मूल्य प्रतिकिलो एक हजार .रुपैयाँ निर्धारण गरेको हो।
त्यसैगरि धानको मूल्य प्रतिपाथी २५० रुपैयाँ निर्धारण भएको छ। मकै, कोदो र गहुँको प्रतिपाती तीनसय, जौको २५०, भटमास ८ सय आलुको बिउ प्रतिपाती तीनसय रुपैयाँ मूल्य तोकिएको छ । घिउको मूल्य भने प्रतिमाना तीनसय रुपैयाँ निर्धारण भएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले घरेलु मदिरा (जाँड रक्सी)को मूल्य पनि निर्धारण गरेको छ । जसअनुसार लोकल रक्सीको प्रतिबोतल १५०, तोङ्वाको १२५ र निघार प्रतिबोतल १०० रुपैयाँ निर्धारण गरेको छ ।
त्यसैगरि वडा कार्यालयले घरेलु कामदारको पारिश्रमिक पनि निर्धारण गरेको छ । जसअनुसार पुरुष कामदारका लागि एक दिनको ५०० र महिला कामदारका लागि ४०० रुपैयाँ तोकिएको छ ।
वडाभित्र उपभोग्य वस्तुको मूल्य र घरेलु कामदारको ज्यालामा एकरूपता ल्याउन दररेट निर्धारण गरिएको वडाध्यक्ष लिम्बूले जानकारी दिए । तोकिएको मूल्य दर आ–आफ्नो टोलमा कार्यान्वयन गर्न पनि वडा कार्यालयले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.