कमलमा शिक्षकले अन्यत्र काम गर्दा पालिकाबाट अनुमति लिनु पर्ने

कमल,२४ फागुन । झापा, कमल गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले अन्यत्र समेत काम गरिआएको पाईएको भन्दै त्यस्ता शिक्षकहरुले अनिवार्य रुपमा अनुमति लिनुपर्ने निर्देशन गरेको छ ।
कमल गाउँपालिका स्तरिय शिक्षा समितिको बैठकले पालिका भित्रका कतिपय शिक्षकहरु विद्यालय समयका अलावा अन्यत्र  कतिपय शैक्षिक संस्थामा समेत कामकाज गरिआएका पाईएकाले त्यस्ता शिक्षकहरुले सम्बन्धित विद्यालय व्यवस्थापन समितिको सिफारिससहित यस पालिकाबाट समेत अनिवार्य अनुमति लिनुपर्ने निर्णयमा उल्लेख छ । शिक्षकहरुलाई थप जिम्मेवार बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
गत फागुन १६ गते बसेको बैठकले गाउँपालिकामा नीतिगत रुपमा दर्ता नभई साथै अनुमति प्राप्त गरेको कक्षा बाहेकका कक्षा हरु सञ्चालनमा रहेको भए अविलम्व त्यस किसिमका विद्यालयहरू बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै, समितिले गरेको निर्णयमा संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० मा शिक्षा नियमावली अनुसार १० प्रतिशत छात्रवृत्ति कुन कुन कक्षामा कुन कुन विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएको छ त्यसबारे सम्बन्धित विद्यार्थीहरूको अभिभावक समेतको नाम खुलाएर चैत्र मसान्तसम्ममा सम्पूर्ण विवरण समेत गाउँपालिकामा अनिवार्य पेश गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले संस्थागत विद्यालयलाई अनिवार्य रुपमा विद्यार्थीलाई छात्रबृति उपलब्ध गराउने कार्यलाई नियमित सञ्चालन गर्न समेत अनुरोध गर्ने निर्णय गरिएको शिक्षा समितिले जनाएको छ ।
पालिका भित्रमा रहेका कुनै पनि विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना गर्दा अनिवार्य रुपमा स्थानान्तरण प्रमाण र लव्द्याङ्क पत्र संलग्न गरेर मात्र विद्यार्थी भर्ना गर्नुपर्ने समितिको बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.