प्रादेशिक आयुर्वेद अस्पतालबाट ५ हजार बढी विरामीले सेवा पाए

दमक,१३ फागुन । झापाको कमल गाउँपालिका ७ लखनपुरमा रहेको प्रादेशिक आयुर्वेद अस्पतालबाट अहिलेसम्म ५ हजार बढीले सेवा पाएका छन् । गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको आयुर्वेद अस्पतालबाट बहिरङ्गमा २८४९ जना र फलोअपमा गरि ५ हजार ३ सय ४० जनाले सेवा लिएको अस्पतालका आयुर्वेद चिकित्सक डा.धर्मेन्द कुमार पण्डितले बताए ।
आयुर्वेद सम्बन्धी विशेषज्ञ सेवा पुरयाँउन उद्देश्यले प्रादेशिक स्तरकै सुविधासम्पन्न अस्पतालमा अहिले दैनिक ८० देखि १०० जना विरामीले सेवा लिदैआएको उनले बताए । सेवा लिन आउने अधिकांस हाडँजोर्नी,नसाका विरामीहरु छन् ।
अस्पतालमा दुई जना एमडीसहितको चार जना आयुर्वेद डाक्टर , एक जना स्टाफ नर्स र दुई जना कार्यालय सहायकमार्फत सेवा दिदैआएका छन् । एमडी डाक्टर भने दरवन्दी अनुसार आउने क्रममा मात्र रहेको उनले बताए ।
गाउँपालिकाका अनुसार संघीय सरकारले प्रदेशस्तरमा एउटा सुविधासम्पन्न आयुर्वेद चिकित्सालय स्थापना गर्ने उद्देश्यले बर्षदिन अघि मात्र यस आयुर्वेद अस्पताल निर्माण भएको हो । तीन तले लिफ्टसहितको सुविधा सम्पन्न भवन रु २० करोड ६३ लाख रुपैयाको लागतमा निर्माण भएको हो।
५० शैयाको यस अस्पतालमा दैनिक रूपमा आकस्मिक सेवासहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशालालगायतका सेवाका लागि पूर्वाधार रहेका छन् । सवै पूर्वाधार निर्माण भएपनि अहिले भने दैनिक ओपीडीमार्फत स्वास्थ्य जाँच र औषधी वितरण मात्र हुदैआएका छन् । त्यस्तो सेवा पनि कार्यालय समयसम्म मात्र सेवा दिन बाँध्य भएको डा.पण्डित बताउँछन् ।
उनका अनुसार आयुर्वेद स्वास्थ्य सेवामा विरामीको आर्कषण बढेपनि राज्यले यस क्षेत्रको विकासमा खासै चासो पुग्न सकेको छैन् । उनले भने,–‘ पूर्वाधार पर्याप्त छन्, तर प्रदेश सरकारले यस अस्पतालको सेवा विस्तारको काम नगर्दा यहाँका सेवाग्रहीहरु मारमा परेका छन् ।’ सेवा विस्तार गरे भने यस अस्पतालमा यो संख्या तेव्बर बढ्ने उनको दावी छ । पछिल्लो सयम आयुर्वेद चिकित्सा पद्धतिमा जुनसुकै किसिमका विरामीले सफल उपचार पाएको दावी गदै डा. पण्डित भन्छन् , –‘अव आयुर्वेद चिकित्सा पद्धतिमा विरामीको भरोसा मत्र नभएर हरेक विरामीका लागि वरदान झै बन्दै गएको छ । ’
अस्पतालमा सेवा लिन दमक ५ बाट आएकी ६४ बर्षिया सरिता पोख्रेलले आयुर्वेद स्वास्थ्य सेवा लिन यहाँ आएपनि सेवा पर्याप्त नभएको गुनासो गर्छिन् । आयुर्वेदका नियमित उपचार गराईआएकी उनले यस आयुर्वेद उद्घाटन गरेपछि जस्तो सेवा थियो त्यस्तै मात्र सेवा प्रवाह हुदै आएकाले आयुर्वेदका विरामीहरु मर्कामा परेकाले अव चाडो भन्दा चाडो राज्यले यस आयुर्वेदको सेवा विस्तारमा चासो दिनुपर्ने सुझाव दिईन् ।
२०७५ असार ३१ गते भवन निर्माणको सम्झौता भई २०७८ असार २५ गते भवन निर्माण सम्पन्न भएको थियो । अस्पतालका लागि स्थानीय जग्गा दाताहरूले लाखौ मूल्य पर्ने २ बिगाहा १ धुर जग्गा निशुल्क दिएका थिए ।
यता , यस आयुर्वेद अस्पताललाई उद्देश्य अनुरुप सञ्चालन गर्न पालिकामार्फत प्रदेश सरकारसंग आवश्यक पहल भईरहेको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । सेवाको विस्तारैसंगै आयुर्वेद चिकित्सा पद्धतिका बारे आम जनमानसमा जानकारी पुग्न नसकेकाले त्यसवारे स्थानीय सरकार प्रतिवद्ध भइ लाग्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published.