भद्रपुर,१३ फागुन । विभागीय टोली त्रिभुवन आर्मी प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।
निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।
थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई १–० ले पराजित गरेको हो । आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि–किकलाई उनले जाली चुमाए ।
जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ ।
दर्शकले खचाखच खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए । दुवै टोलीले गोल गर्ने अवसरहरु गुमाएका थिए । खेलको ८८ औँ मिनेटमा आर्मीका रिपु भुलानको पासमा प्रज्ज्वल गुरुङले हेडमार्फत गोल गरे । गोल भएपछि खेलाडीहरु खुसी मनाउन थाले ।
तर, अफसाइडका कारण गोल दिइएन । त्यही बेला संकटाका मनिष डाँगीले बललाई अगाडि बढाउँदै गरेको प्रहार पोस्ट नजिकबाटै बाहिरियो । डाँगीलाई डिबक्सबाहिर आर्मीका जितेन्द्र कार्कीले लडाए ।
शनिबारको खेलको प्लेयर अफ द म्याच आर्मीका सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
आइतबारको अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।