व्यवसायी मञ्जुको जन्मोत्सवमा खानेपानी धारा जडान

दमक, १० फागुन । झापा दमककी व्यवसायी मञ्जु खतिवडाले आफ्नो जन्मोत्सवको अवसर पारेर व्यस्त बजारमा खानेपानीको सार्वजनिक धारा जडान गरिदिएकी छन् ।
दमकको पाथीभरा कस्मेटिक तथा फेन्सी स्टोरकी सञ्चालिका खतिवडाले शनिबार परेको आफ्नो जन्मदिनमा दमक ६ स्थित नमुना बजार क्षेत्रमा खानेपानीको सार्वजनिक धारा जडान गरिदिएकी हन् ।
जडित धाराको दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी न्यौपानेले उदघाटन गरेका छन् । सो अवसरमा अध्यक्ष केसीले दमक खानेपानीले सार्वजनिकस्थल तथा विपन्न नागरिकहरुमा खानेपानीको पहुँच बढाउन त्यस किसिमका धारा जडानमा समुदायसँग सहकार्य गरिरहेको उल्लेख गरे ।
सार्वजनिक धारा जडान गरेर जन्मोत्सव मनाएकी व्यवसायी खतिवडाले जन्मोत्सव मनाउन फजुल खर्च नगरी यस किसिमको सेवामुलक काममा लगाउन पाउँदा आफूलाई खुशी लागेको बताइन् ।
धारा उदघाटनका अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, लेखा संयोजक नेत्र चम्लागाइँ लगायत व्यवसायी, सर्वसाधारणहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.