
झापा,७ फागुन । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो । आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम गरिएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।
अन्र्तराष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ । सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो । निगमले यसअघि माघ १८ गते मूल्य बढाएको थियो ।