झापा, ५ फागुन । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई तोकेको जरिवानाको रकम माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को यही फागुन ४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम सो जरिवानाको रकम माफी मिनाहा गरेकी राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी राष्ट्रपति भण्डारीबाट मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बूसमेतका तीन सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ ।
राष्ट्रपति भण्डारीबाट फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा पुष्कर गौतमसमेतका १४ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।