कमलमा हात्तीपाइले विरुद्ध आम औषधी सेवनमा सामूहिक प्रतिबद्धता

दमक,३ फागुन । यहि फागुन ११ देखि सञ्चालन हुने हात्तीपाइले रोग विरुद्धको देशव्यापी आम औषधी सेवनको अभियानलाई प्रभावकारी बनाउन झापाको कमल गाउँपालिकामा आज पालिकास्तरिय सरोकारवालाहरुवीच अन्तरकृया गरिएको छ ।
क्याम्पास्थित गाउँपालिकाको सभाहलमा आयोजित अन्तरकृयामा गाउँपालिका अन्तर्गतका वडाध्यक्षहरु , कार्यपालिकाका सदस्यहरु , वडा सदस्यहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, बिद्यालयका शिक्षक तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मीहरु लगायत गरि करिब ४० जनाको सहभागिता थियो ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उदघाटन गरेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका विश्वनाथ श्रेष्ठले फागुन ११ गतेदेखि देशव्यापी रुपमा हात्तीपाइले विरुद्धको आम औषधी सेवन कार्यक्रमको आवश्यकता र महत्वका बिषयमा जानकारी प्रस्तुत गरेका थिए ।
उनले देशभरका ६४ जिल्लामा यो कार्यक्रम सञ्चालन हुने र हात्तीपाइले विरुद्धको औषधी सेवन नगर्ने जो कोहीलाई यसको संक्रमण देखिदा जिवननै अभिषाप जस्तै बन्ने खतरा रहेको औंल्याए । उनले हात्तीपाइले रोग विरुद्धको औषधीका बिषयमा नकारात्मक भ्रमहरु समाजमा फैलिएका कारण सर्वसाधारणदेखि विशिष्ट नागरिकहरु सम्मले औषधी सेवन नगर्नु दुखद भएको बताए । श्रेष्ठले सबै किसिमका भ्रमहरु चिर्दै आम औषधी सेवनमा लाग्नुको विकल्प नरहेको पनि उल्लेख गरे ।
आम औषधि सेवन अभियान कार्यक्रममा २ वर्ष भन्दा मुनिका वालबालिका , ७ दिनका सुत्केरी, गर्भवती महिला र सिकिस्त विरामी बाहेकका सबैले अनिवार्य रुपमा औषधि सेवान गनुृपर्ने कार्यक्रममा जोड दिइएको थियो ।
आम औषधि सेवन अभियानमा गाउँपालिकाका सबै वडा र टोल टोलमा स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका र जनप्रतिनिधिहरु सहभागी हुने र करिब ५२ हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिए ।
सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य लगायतले पनि अभियानलाई सफल बनाउन आवश्यक सुझावससहित मन्तव्य राखेका थिए । सो अवसरमा सहभागीहरुले अभियान सफल बनाउने प्रतिबद्धता पत्रमा सामूहिक हस्ताक्षर समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.