-दिलकुमारी राई
दमक ,२ फागुन । झापाको कमल गाउँपालिकामा सुत्केरी महिलाहरुलाई लक्षित गरि एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो । रेडक्रसले मानवीय सेवासंगै यस कार्यक्रम समेत सञ्चालन गरेपछि विपन्नका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम वरदानझै बन्न पुगेको रेडक्रस उपशाखा सभापति चन्द्र साहले बताए ।
साहका अनुसार पालिका भित्र स्थायी बसोबाससंगै स्वास्थ्य जाँच नियमित गर्ने महिलालाई सुत्केरी हुने क्रममा निशुल्क एम्बुलेन्सको व्यवस्था गर्न थालिएको छ ।
चालु वर्षबाट शुरु भएको यस कार्यक्रममा रेडक्रसले आफना दुई वटा एम्बुलेन्सलाई परिचालन गरिआएको छ । रेडक्रसलाई दातामार्फत पाँच वर्ष अघि एउटा एम्बुलेन्स प्राप्त भएको छ भने एउटा भने बर्षदिन अघि मात्र पालिकामार्फत उपलव्ध भएको एम्बुलेन्सले सेवा पुरयाँउदै आएको छ ।
सेवा लिन बसोबास खुलेको कागजात,नियमित स्वास्थ्य जाँच जस्ता निश्चित सर्त पूरा गरेको हुनुपर्ने उपशाखा सचिव पारषमणि राई बताउँछन् । यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका सुत्केरी महिलाहरु लाभान्दित भएको उनको भनाई छ ।
चालु आर्थिक बर्ष २०७९÷८० बाट शुरु भएको यस कार्यक्रमबाट हालसम्म १३४ जनाले सेवा लिएका छन् । सेवा लिने अधिकांस विपन्न समुदाय रहेको तथ्यांकमा उल्लेख छ । सुत्केरी महिलालाई अस्पतालसम्म पुरयाँएवात पालिकाले इन्धन र न्यून सेवा शुल्क उपलव्ध गराउदै आएको सचिव राईले बताए ।
प्रसुति गराउन घरदेखि अस्पतालसम्म लैजान र प्रसुति पछि घर फर्किनका लागि एम्बुलेन्स प्रयोग गरिआएका छन् । घरदेखि अस्पताल र पुनः अस्पतालदेखि घरसम्म जान एम्बुलेन्स निशुल्क पाएपछि अधिकांस सेवाग्रहीहरुले राहतको महषुष गरेकी कमल १ की सुत्केरी झलिमाया सन्थालले बताईन् । उनले भनिन्, –‘ हामी जस्ता अत्यन्त कमजोर मात्र होइन , स्वास्थ्य संस्थामा प्रसुति गराउनु पर्छ भन्ने हेक्का नभएका लक्षित वर्गलाई सरकारले उपलव्ध गराउदै आएको स्वास्थ्य सुविधाको पहुँच पुरयाँउन अझै खाँचो छ ’
पालिकाले महिलाको स्वास्थ्य सुरक्षामा सघाँउ पुरयाँउन यस कार्यक्रमलाई समावेश गरि नयाँ कार्यक्रमको शुरुवात गरिएको अध्यक्ष हुकुमसिंह राई बताउँछन् । यस कार्यक्रमले महिलाको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने भन्दै उनले निशुल्क एम्बुलेन्सको सुविधा पाउन पनि प्रसुति गराउन स्वास्थ्य संस्था तथा नियमित स्वास्थ्य परीक्षण गराउने क्रम बढ्दै गएको बताए ।
यस कार्यक्रमका लागि पालिकाले रु ३ लाखको वजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारी तथा सेवागुणस्तर उपयोगी बन्दै गए कार्यक्रममा वजेट बृद्धि गदै लैजाने लक्ष्य राखिएको उनले बताए ।