दमकमा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्ध औषधी सेवन अभियान

दमक,२ फागुन । दमक नगरपालिकाले यहि फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान चलाउने भएको छ ।दमक नगरपालिका स्वास्थ्य शाखाले मंगलवार नगरपालिकाको सभाहलमा आयोजना गरेको अभियानका बारेमा सरोकार संस्थाहरुको भेलाले नगरमा हात्तीपाइले रोग उन्मुलन गर्नेगरि औषधी सेवन गराउन अभियान सफल बनाउन जोड दिएका हुन् ।
अभियान अन्तर्गत नगरका १० वटै वडामा ५० जना स्वास्थ्यकर्मीसहित १ सय जना परिचालित हुने छन् । यसपटक नगरका १ लाख ९ हजार २ सय ७७ जनालाई औषधी सेवन गर्ने लक्ष्य राखिएको जनाईएको छ ।
कार्यक्रममा नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले अभियानलाई सार्थक निकर्षमा पु¥याउन सबैको दायित्व भएकाले सर्बसाधारणमा सचेतना गराउन सरोकारवाला संस्था र आम समुदायलाई आग्रह गरेकी छन् । कार्यक्रममा नगरको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र भट्टराईले औषधीको औचित्यताबारे प्रष्ट पार्नुका साथै विगतका अभियानले हात्तीपाइले रोग विरुद्धको औषधी सेवनमा पूर्णता दिन नसकेका कारण रोगको जिवाणु कायमै रहेको तथ्यांक सार्वजनिक गरेका छन् । उनले ११ वर्षअघि दमकमा जिवाणु भएपनि अहिले घटेर ४ प्रतिशतमा झरेको तथ्यांक भएपनि आमरुपमा निमूल गर्न नसकिएको बताए ।
नगरको जनस्वास्थ्य निरीक्षक बद्री बरालले सर्वसाधारणमा औषधी सेवनबारे सचेतना जगाउन नगरमा भएका संघ संस्थाहरु र सञ्चारमाध्यमहरुलाई सहयोगको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
दमक नगरका सामाजिक संघसंस्थाका प्रतिनिधि, स्वास्थ्य विभागका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी, सञ्चारकर्मीले सर्बसाधारणलाई औषधीमाथि विश्वासनीयता हुनेगरी अभियान चलाउन र जनतेतना अभिवृद्धि गर्न सुझाव दिएका थिए ।
हात्तीपाइले रोग उन्मुलन गर्न सरकारले ११ वर्षअघिदेखि राष्ट्रब्यापी अभियान शुरु गरेपनि झापा मोरङ, सुनसरी लगायतका केही जिल्लाहरुमा अझै हात्तीपाइलेका विरामी देखिएका छन् । विश्वका ७२ देशमध्ये २८ देशले सेवा समापन गरिसकेका छन् भने सन २००० सम्ममा ४ करोड मानिस अंगभंग भएको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published.