कमल नगर अस्पतालको सेवा सुचारु

कमल,१ फागुन । झापाको कमल गाउँपालिकामा सरकारी अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा न. २ क्याम्पामा रहेको स्वास्थ्य चौंकीलाई स्तरन्नति गरि कमल नगर अस्पताल सञ्चालनमा ल्याईएको गाउँपालिकाले जनाएको छ । आज सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रमसहितको उपचार सेवा सुचारु गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार श्रेष्ठले बताए ।

स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसंँगै गरेको प्रतिबद्धता अनुसार बीमा कार्यक्रमको सेवासहित आफनै ठाउँमा ्अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालबाट आज पहिलो दिन ३४ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् ।
अस्पतालमा इमर्जेन्सीका अतिरिक्त ओपिडी सेवा समेत सुचारु गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । ओपिडी जाँचका लागि आएका ३४ जना मध्ये ६ जनाले स्वास्थ्य बीमा कार्यक्रमको नियमानुसार थप उपचार प्रकृयाका लागि रेफर लिएका उनले जानकारी दिए ।
स्वास्थ्य बीमाको सेवासहित तत्कालका लागि अस्पतालमा आउने बिरामीको सम्भव भएसम्म सोही अस्पतालमा उपचार गरिने र चिकित्सकहरुको सिफारिस अनुसार आवश्यक अन्य ठुला अस्पतालमा रेफर गर्ने गरी व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल एमबीबीएस र मेडिकल अफिसरसहित १३ जनाको जनशक्ति रहने र बिहान ८ बजेदेखि ६ बजे सम्म मात्रै सेवा प्रदान गरिने जनाइएको छ । बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै सेवा समय बढाउदै लैजाने अर्यालले बताए। जनशक्ति र अन्य पूर्वाधार तथा उपकरणको व्यवस्था गरेर अस्पतालको सेवा विस्तार गर्दै लगिने शाखा प्रमुख अर्यालले बताए । अस्पतालमा तत्काल नियमित स्वास्थ्य परीक्षण तथा उपचार, एक्सरे, ल्याब सेवा, इसिजी लगायतका सेवा प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published.