आदिवासी रंगशालामा पुगे मन्त्री लिम्बू, छिटो काम गर्न निर्देशन

दमक,२९ माघ । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले आज झापाको कमल गाउँपालिका वडा न.५ पाडाजुंगीस्थित आदिबासी रंगशालाको स्थलगत निरीक्षण गरेका छन् ।
उनले रंगशाला निर्माणमा भईरहेको कार्य प्रगतिको बारेमा स्थलगत अवलोकन गर्नुका साथैं सरोकारवालाहरुसंग संक्षिप्त अन्तरकृयामा सहभागि भएका रंगशालाका महासचिव दिपेनवाला राईले जानकारी दिए । अन्तरकृयामा मन्त्री लिम्बूले रंगशाला निर्माणकार्य छिटो गर्न निर्देशन दिदै यसलाई समयमै सम्पन्न गराउन वर्तमान सरकारको सहयोग रहने प्रतिवद्वता व्यक्त गरे ।
महासचिव राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत रंगशाला निर्माणका लागि यसवर्ष रु १ करोड विनीयोजन भई एकसाता अघि देखि निर्माण कार्य शुरु भईरहेको छ । रंगशालाको कामको अगुवाई आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले गरिआएको छ । रंगशाला निर्माणका लागि प्रतिष्ठानका महासचिव दिपेनवाला राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरि काम भईरहेको गठित निर्माण उपभोक्ता समितिका सचिव रविन गुरुङले बताए ।
विस.२०६९ सालदेखि निर्माण कार्य थालिएको यो रंगशाला नामकरणको विवादका कारण निर्माण कार्य ओझेलमा परेको थियो । सरकारबाट यो अवधिमा पटकपटक गरि रु दुई करोड बढी वजेट छुट्टिएर खेलमैदान सम्याउने ,घेरोवेरा लगाउने जस्ता केहि प्रारिम्भक चरणका कामहरु भएपनि डिपीआर अनुसार काम हुन सकेको थिएन् । तर, पछिल्ला केहिवर्षमा भने सरकारले आदिवासी रंगशालाको नाम हटाएर मदन भण्डारी रंगशाला नाम उल्लेख गरि वजेट छुट्टयाएपछि दुई आर्थिक वर्षको लाखौंको वजेट फ्रिज हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.