प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ : मुख्यमन्त्री कार्की

-रेडक्रस झापाको जिल्ला सभा सम्पन्न
भद्रपुर ,२८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आज शनिवार यहाँ ४९औँ जिल्ला सभा अधिवेशन उद्घाटन गदैं मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताए । उनले भने , “मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौवटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।” प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने बताए । “पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन”, उनले भने, “प्रदेशको नामकरण हुननसक्दा मलाई लज्जाबोध भइरहेको छ ।” प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उनले बताए ।

कार्यक्रममा रेवतीरमण नेपाल स्वयम्सेवा सम्मानबाट तीनजनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नारायण ढुङ्गाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहेका छन् । नगद रु ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सभापति लोकराज ढकालले उनीहरुलाई सम्मानित गरेका थिए । यस्तै जिल्लामा धेरै रक्तदान गर्ने विरता लेडी जेसीज, तेरापन्थ युवा परिसद् र विराट अर्जुन उपभोक्ता सहकारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

यसैगरि, प्रदेशसभामा निर्वाचित रेडक्रस कुमोरखोद उपशाखाकी कोषाध्यक्ष लक्कीदेवी गणेशलाई समेत सम्मान गरिएको थियो ।

सोहि अवसरमा रेडक्रस झापामा स्थापना गरिएको रेवतीरमण नेपाल अक्षयकोषमा दाता परिवारले थप १ लाख ५० हजार रकम हस्तान्तरण गरेका छन् । त्यस्तै, सम्मानित व्यक्तित्व भुर्तेलले पनि आफूले पाएको पुरस्कारको रकम रेडक्रसलाई नै हस्तान्तरण गरे ।

जिल्ला सभाको उद्घाटनमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल,भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल,झापा भद्रपुर गोल्डकपका संयोजक दिपेश ढकाल,सम्मानित दिव्य प्रसाद भुर्तेल लगायतले रेडक्रसको महत्व माथि चर्चा गरेका थिए ।

निर्वाचन कार्यक्रम शुरु

यसैगरि, रेडक्रस झापाको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको छ । निर्वाचन अधिकारी इन्द्रबहादुर गुरुङले माघ २५ गतेदेखि फागुन ६ गतेसम्म निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् । जसअन्तर्गत मतदाता नामावली,दावी विरोध सकिएका छन् भने फागुन ४ देखि उम्मेदवार दर्ता लगायतका कार्यक्रम सञ्चालन गरिने छन् । फागुन ४ मा विहान १० देखि १ वजेसम्म मनोनयन,५ गते फिर्ता र ६ गते मतदानका कार्यक्रम तय गरिएका छन् ।

निर्वाचनमा जिल्ला समिति, मनोनितसहित २६ वटै उपशाखाका प्रतिनिधि गरि १५६ जना मतदाता रहेका छन् । यसपटक पनि जिल्ला सभापतिमा हालका सभापति लोकराज ढकालनै सर्वसम्मत सभापति बन्ने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.