पथरीशनिश्चरे, २७ माघ । पथरी जेसीजको पहलमा बिगत एक वर्ष अघिदेखि रोजगारीको लागि भारतको कोलकत्ता गएपछि परिवारसँग सम्पर्क बिहीन भएका एक नेपाली नागरिकलाई उद्वार गरेको छ।
आज मोरङको पथरी शनिचरे ८ मा घर भएका लोकबहादुर धिमाललाई पथरीशनिश्चरे -८ का वडाध्यक्ष नवीनजंग कार्की र पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्म सहितको टोलीले उद्वार गरेको हो।
नेपाली टोलीले झापाको मेचीनगरस्थित मेची पुलबाट निज धिमाललाई उद्वार गरी परिवारसित पुनः मिलन गराएको हो।
मेची पुलबाट भारतको पश्चिम बंगाल, कलकत्तामा रहेको जानकी माता नेपाली धार्मिक संघका गोपाल लाल टैगोर नामक संचालकले निज बेपत्ता अवस्थामा रहेका धिमाललाई मेची पुल सम्म ल्याई दिएको पथरी जेसीजका अध्यक्ष विश्कर्माले जानकारी दिए।
सोहि क्रममा पथरी जेसीजले परिवारसँग पुनः मिलन गराई दिन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पश्चिम बंगाल, कलकत्ताको जानकी माता नेपाली धार्मिक संघका गोपाल लाल टैगोरलाई सम्मान पत्र प्रदान गरेको छ।