सुदुरपश्चिममा कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त

कैलाली,२६ माघ । नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।संवैधानिक व्यवस्था अनुसार एक महिनाभित्रै नेकपा एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि बिहीबार पदमुक्त भएका हुन् ।
योसँगै प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।शाह कैलाली निर्वाचन क्षेत्र नं २ (१ ) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुन लागेको हो ।

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२ ) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ । सो व्यवस्था अनुसार शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published.