दमक,२४ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा र काराकारमा बन्दी जिवन विताई रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले छुटाछुट्टै पत्र पठाउदै पार्टी एकीकरण तथा कार्यगत एकताको प्रस्ताव आएको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताए ।
पहिचानका लागि आन्दोलनरत कुमार लिङ्देन नेतृत्वमा रहेको संलोरामलाई पार्टी एकताका लागि यसअघि समेत राष्ट्रिय जनमुक्ति पार्टीले प्रस्ताव पठाएको थियो ।
जसपाले गठन गरेको एकता वार्ता समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पहिचानका पक्षधरहरुवीच पार्टी एकता जरुरी भएको भन्दै आइतवार मञ्चलाई औपचारिक पत्र पठाउएको उल्लेख छ । नीति, सिद्धान्त र विचार मिल्ने दलहरुसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुष १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो ।
जसपाले श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोबिन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको हो । विचार र मुद्दा मिल्ने पार्टीहरुसँग कार्यगत एकता वा पार्टी एकिकरण गर्न इच्छा वा अवधारणा भए यथासिघ्र वार्ता गर्न दुवै दलले पत्रमार्फत अनुरोध गरेको महासचिव चेम्जोङले बताए । दुवै दलबाट पत्रका बारेमा पार्टी केन्द्रीय समितिको बैठकमा छलफल गरि अगाडी बढ्ने उनले स्पष्ट पारे ।