
झापा,२३ माघ । ‘सारेगमप लिटल च्याम्प’ नेपालको पहिलो संस्करणको उपाधि झापा,बिर्तामोडकी कृपा पौडेलले जितेकी छन् । अन्तिम ५ प्रतियोगीलाई उछिन्दै उनले प्रतियोगीताको शीर्ष उपाधि प्राप्त गरेकी हुन् । उपाधिसँगै कृपाले नगद १६ लाख रुपैयाँ हात पारेकी छन् । ‘शो’को फस्ट रनरअप पनि झापाकै रोशा फुँयाल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् ।
पहिलो र दोस्रो रनरअपले क्रमशः सिद्धार्थ बैंकका तर्फबाट ४ लाख र ३ लाख रुपैयाँ पाएका छन् ।
नोवर्डी प्रोडक्सनले भारतको जी गु्रपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्त्रयाएको रियालिटी शोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरेले पनि उत्कृष्ट पुरस्कार जितेका छन् ।
कार्यक्रमको अन्तिम ५ प्रतिस्पर्धीलाई ३,३ वटा गीत रेकर्ड तथा म्युजिक भिडिओ, नेपालका साथै वर्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने छ ।
कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देशविदेशका ३० हजारभन्दा बढी प्रतिस्पर्धीले भाग लिएका थिए । सहभागीमध्ये मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्रान्ड अडिसनमा ३५ जना र ग्रान्ड प्रिमियरमा १५ जना पुगेका थिए । कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, शम्भुजित कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए ।
त्यस्तै १५ जना चर्चित गायक पनि ग्रान्ड जुरीको भूमिकामा थिए । १८ हप्ता चलेको यो प्रतियोगीतामा १६ वर्ष मुनिका बालबालिकाले सहभागिता जनाएका थिए ।