निर्वाचन सम्बन्धीको व्यवस्थामा संशोधन गर्नुपर्ने डा. कोइरालाको जोड

दमक ,२२ माघ । नेपाली कांग्रेसका नेता केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनु पर्ने बताएका छन् । संविधानमा उल्लेखित निर्वाचन सम्बन्धीको व्यवस्थामा संशोधन गर्नुपर्ने उनको भनाई छ ।
कांग्रेसले शुरु गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत सोमबार झापाको दमकमा आयोजित सुझाव संकलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा. कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने गरि व्यवस्था मिलाउन कांग्रेसले नीतिगत पहल गर्ने बताए ।
उनले भने –‘अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिटनै सुरक्षित गर्नुपर्छ । जस्तो कि महिला– महिला, दलित –दलित मा र जनजाति –जनजातिका बीचमा प्रतिस्पर्धा हुने गरि संविधानमानै व्यवस्था गर्नुपर्छ ’
आरक्षित समुदायहरुबीचकै प्रतिस्पर्धाले मात्रै उनीहरुको स्थान सुरक्षित हुने र अधिकारको सम्बोधन हुन सक्ने डा. कोइरालाको भनाई थियो । उनले समानुपातिक प्रणालीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने र प्रतिनिधि सभामा भने प्रत्यक्ष निर्वाचन लडेर जानुपर्ने व्यवस्था गरिनुपर्ने पनि धारणा राखे ।
पार्टी एकतालाई बलियो बनाउन नेताहरु भन्दा कार्यकर्ताहरुको भुमिका धेरै हुने चर्चा गर्दै पार्टी अधिवेशनमा देखिएका गुटहरु अधिवेशनसँगै सकिनु पर्नेमा त्यसो हुन नसक्दा पार्टीले निर्वाचन मुस्किल पर्ने गरेको नेता डाक्टर कोइरालाको भनाई छ ।
कांग्रेस गाउँबाट बनेको पार्टी भएको र यो मास बेस पार्टी भएकाले कांग्रेस कहिल्यै पनि मासिन नसक्ने डाक्टर कोइरालाले बताए । अरु पार्टीका भोटर भनेका तिनीहरुका कार्यकर्ता हुन कांग्रेस भनेको आम जनताको पार्टी हो –डा. कोइरालाले अगाडी भने ।
उनले कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्नुपर्छ भन्ने पक्षमा आफु नरहेको बताउँदै गठबन्धन नगरी पनि पार्टीले चुनाव जितेर पहिलो स्थान ओगटेको इतिहास कांग्रेससँग भएका कारण अबका दिनमा त्यसतर्फ विचार गरिने उल्लेख गरे । कुनै एक पार्टीको बहुमत नहुँदा संसदमा सरकार बनाउनैका लागि पनि मिलिजुली अभ्यास गर्नुपरेको पनि उनको भनाई थियो ।
दमकमा आयोजित सो अन्तरक्रियामा झापाको माइपश्चिम भुगोल दमक, कमल, गौरादह र शिवसताक्षी नगरपालिकाका समेत अगुवा नेता कार्यकर्ताहरु २३ जनाले कार्यक्रम मार्फत नेता कोइराला समक्ष सुझावहरु राखेका थिए ।
सो अवसरमा कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीले जिल्ला तहबाट सञ्चालन गरिरहेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । सभापति थेवेले भने,–‘ सबै तहका पार्टी नेतृत्वलाई समुदायमा कांग्रेस अभियानद्धारा निर्देशित कार्यक्रमहरु सशक्त ढंगबाट समुदायमा सञ्चालन गर्न लाग्नुपर्छ ।’
सो अवसरमा सहभागीहरुका तर्फबाट रेगिना भटट्राई प्रसाइँ, विश्वदिप लिङदेन, सत्यनारायण चौधरी, हेमन्त कार्की, रोशन बिष्ट, पर्शुराम रिजाल, खगेन्द्र भण्डारी, युवराज कोइराला, युद्धप्रसाद लामिछाने, नेत्र ढुंगाना, टंक ढकाल, सोबिम न्यौपाने लगायत २३ जनाले सुझाव राखेका थिए ।
सुझावको ओइरो
धेरैजसो सहभागीहरुले आगामी निर्वाचनहरुमा कांग्रेसले अन्य दलसँग गठबन्धन गर्न नहुने पनि सुझाव महत्वसाथ राखेका छन् । त्यस्तै भातृ संघहरुको गठन र परिचालनमा ध्यान दिइनुपर्ने,समय समयमा जनसेवाका कार्यक्रमहरु पनि ल्याउनुपर्ने, सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुको भुमिका सशक्त बनाइनुपर्ने, कांग्रेसले गरेका कामहरुको प्रचार प्रसारमा तिब्रता दिइनुपर्ने, चुनावमा टिकट वितरण गर्दा पहुँच र पैसालाई प्राथमिकता दिन नदिई उम्मेदवारको लोकप्रियतालाई दिनुपर्ने माग गरेका थिए ।
उनीहरुले पार्टीमा योगदानको ख्याल राख्नुपर्ने, नेतृत्वका असल काम र अभ्यासका बारेमा सुसुचित गरिनुपर्ने, पार्टी नेतृत्व र सरकारमा रहेका नेताहरुमाथी आधार प्रमाण बिना लगाइने लाञ्छना र आरोपहरुका बारेमा आधिकारिक रुपमा पार्टीले समयमानै स्पष्ट पार्दै जवाफ दिनु पर्ने, सामाजिक सञ्जालहरुमा जथाभावी गरिने टिका टिप्पणीको असर र प्रभावको बारेमा सोचिनुपर्ने लगायतका बिषयहरुमा सुझाव राखेका छन् । नेता कोइराला सोमबारनै विर्तामोडमा हुने कार्यक्रममा सहभागी हुन त्यस तर्फ लागेका कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published.