दमक, २१ माघ । दमक सगरमाथा तेक्वान्दो डोजाङले पहिलोपटक आज दमकमा अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ । दमक -५ स्थित सर्बोदय अंग्रेजी बोर्डिङ स्कूलको प्राङगणमा आयोजित एक दिने तेक्वान्दो प्रतियोगितामा झापासहित उदयपुर, मोरङ, सुनसरी, इलामका गरी ७० जना खेलाडीहरुको सहभागिता थियो । सो प्रतियोगितामा दमक र उदयपुर डोजाङका उमेर समूह अन्तर्गत १८ देखि ५० केजी तौलसम्मका २२ वटा विद्यामा खेल खेलाइएको थियो । प्रतियोगितामा बिजेता र उपबिजेतासहित सहभागि खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेलाडीहरुलाई कार्यक्रमका दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई प्रसाई, संविधान सभाका सदस्य तथा नेतृ महेन्द्रकुमारी लिम्बु र बेलायतस्थित सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक, पूर्व आर्मी तथा अन्तराष्ट्रिय प्रशिक्षक राष्ट्रकुमार राई लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
दमक सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालका अध्यक्षतामा भएको प्रतियोगितामा बोल्दै नगर प्रमुख थापाले खेलको माध्यमले समाज र राष्ट्र निर्माणमा खेलाडीहरुको भूमिका महत्वपूर्ण हुने जोड दिए ।
त्यस्तै, नगर उपप्रमुख प्रसाईले दमकमा आयोजना हुने यस्ता खेल वा प्रतियोगिताले दमकलाई देशभर चिनाउन सकिने बताईन् ।सो अवसरमा दमकमा खेल जीवनमा लामो समयदेखि सक्रिय पूर्व खेलाडीहरु र खेलकुदको संस्थागत विकासमा सक्रिय संस्था र व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बेलायतबाट नेपालमा तेक्वान्दो डोजाङ खेलको विकासमा सक्रिय रहेका मार्सल आर्टका अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक राष्ट्र राईले तेक्वान्दो डोजाङ खेलप्रति अहिलेका नयाँ पुस्ताका खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गरिएको बताए ।
उनका अनुसार प्रतियोगिता सफल बनाउन बेलायतस्थित विट्रिस गोर्खा वेलफेयर सोसाईटी, पेपल मोर्टगागेस, दरवार कोकतेल वार, वेलोन नेपाल, रानाहोंछा समाज मुख्य प्रायोजक छन् । त्यस्तैं, वेलायतमा बसोवास गरिआएका बिर्तामोडका ललित न्यौपाने ,विनोद बुढाथोकी, बुद्ध मगर , बुद्धिसारा गुरुङ, खगेन्द्र राई, जस थापा, जीवन लिम्बू, रितेश चाम्स लगायतले प्रतियोगितामा आर्थिक सहयोग पुरयाँँएका छन् ।
बेलायतमा मुख्य कार्यालय रहेको सो डोजाङले दमकसहित उदयपुरमा शाखा सञ्चालन गरि तेक्वान्दो प्रशिक्षण सञ्चालन गरिआएको छ । उक्त डोजाङलाई नेपाल तेक्वान्दो संघले गत माघ ४ गते आवद्धतासहितको प्रमाणपत्र प्रदान गरेको छ ।