दमक ,२१ माघ । विश्व क्यान्सर दिवसको अवसर पारेर दमक नगरपालिकामा आज सचेतनामूलक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।नगर उप प्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले समयमै पहिचान भए क्यान्सर निको हुने औल्याएका थिए । क्यान्सरबाट जोगिन खानपान र जीवनशैली सकारात्मक बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका थिए ।
कार्यक्रममा आम्दा अस्पताल दमकका पूर्व मेसु डा. नविन ढकालले समय समयमा स्वास्थ्य परीक्षण गर्ने र सकरात्मक जीवनशैली अपनाउनाले क्यान्सरबाट जोगिन सकिने बताए । त्यसैगरी दमक अस्पतालका महिला तथा प्रसुति रोग बिषेशज्ञ डा. दिप्ति कुवँरले दमक क्षेत्रका महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम अधिक देखिएको बताईन् । यसै आर्थिक बर्षको ६ महिना भित्रमा शंकास्पद २ सय जनाको परीक्षण गर्दा २५ जनामा क्यान्सरको सुरुवाती अवस्था देखिएको भन्दै उनले २४ जनाको प्रारम्भिक उपचारबाटै निको भएको र एक जनामा भने क्यान्सर पोजिटिभ देखिएकाले उपचार गर्नु परेको जानकारी दिईन् ।
कार्यक्रममा सहजीकरण गर्दै दमक अस्पतालका जनस्वास्थ्य निरीक्षक बद्रि बरालले क्यान्सरलाई अत्यन्तै जटिल प्रकारको रोग भनेर प्रचार गरिँदा बिरामीको आत्मबल कमजोर भएर मृत्यु हुने गरेको बताए ।
कार्यक्रमको अध्यक्षता गरेकी नगर उप प्रमुख भट्टराईले आफु निर्वाचित भएर आए पछि सबैभन्दा पहिला महिलाको पाठेघरको मुखको क्यान्सरको सुरुवाती उपचारमा प्रयोग गरिने मेसिन थर्मोकोबिलेटर दमक अस्पताल र आम्दा अस्पतालमा उपलब्ध गराईएको बताईन् । उनले क्यान्सर पनि अरु सामान्य रोग जस्तै समयमै उपचार गरे निको हुने भन्दै बिरामीको मनोबल बढाउनु पर्ने जोड दिईन् ।