भट्टराईलाई कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी

दमक ,१८ माघ । नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी पाएका छन् । कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको विशेष उपस्थितिमा शनिवार विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न नहुँदासम्मका लागि भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको सचिव कृष्ण हुमागाईले बताए।

कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई मजबुत बनाउने उद्देश्यले उक्त निर्णय गरिएको हो ।
सभापति थेवे झापा क्षेत्र नम्बर–४ बाट र अर्का उपसभापति केशव पाण्डे क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि दैनिक कार्य सञ्चालन सहज बनाउन दमक निवासी भट्टराईलाई कार्यबाहक सभापति तोकिएको कांग्रेस जिल्ला सदस्य रोशन बिष्टले जानकारी दिए ।

निर्वाचनको समयमा पार्टीका प्रमुख नेताहरू उम्मेद्वारी प्रक्रियामा व्यस्त हुने भएकाले संगठनलाई सशक्त र एकताबद्ध बनाएर अघि बढाउन उनलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकिएको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीभित्र अनुभवी र संगठनप्रेमी नेताका रूपमा परिचित भट्टराई कांग्रेस दमक नगर सभापति, क्षेत्र नम्बर–५ का क्षेत्रीय सभापति हुँदै महासमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टीको १४ औँ महाधिवेशनबाट उपसभापतिमा अत्यधिक मतसहित विजयी भट्टराईले झापामा पार्टी संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.