चुलाचुली अस्पतालबाट स्वास्थ्य बिमा सेवा शुरु हुदै

चुलाचुली ,१७ माघ । इलामको चुलाचुलीमा स्वास्थ्य बिमा कार्यक्रम चुलाचुली अस्पतालबाट शुरु गर्ने सम्झौता भएको छ । इलामको चुलाचुलीमा पहिलो पटक आफ्नै पालिकाबाट स्वास्थ्य बिमा आधारभुत अस्पतालबाट सुबिधा दिने सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमको अनुमति सम्झौता पत्रमा दुई पक्षीय हस्ताक्षर समेत भईसकेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताएका छन् ।चुलाचुली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाका अध्यक्ष केरुङ ,चुलाचुली अस्पतालका मेडिकल अधिकृत डा.अर्पन कटुवाल र स्वास्थ्य बिमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु प्रसाद ज्ञवाली, उपसचिव बाबुराम ज्ञवालीले संझौतामा हस्ताक्षर गरेका छन् ।पाँच वर्ष सम्मको संझौता अनुसार आगामी फागुन १ गतेदेखि उक्त बिमा कार्यक्रम शुरु हुने उल्लेख छ । यसअघि त्यस पालिकाका बासिन्दाहरुले स्वास्थ्य सेवा लिन दमक लगायतका अस्पतालसम्म पुग्नु पर्ने बाँध्यता झेल्दै आएका छन् ।
पालिका अध्यक्ष केरुङले चुलाचुलीका नागरिकहरुलाई आफनै ठाँउबाट स्वास्थ्य सेवा दिन यस कार्यक्रम अत्यन्त उपयोगी भएको बताउँछन् । उनले भने,–‘यस कार्यक्रमबाट यहाँका नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाउने छन्, चुलाचुलीमा अव विस्तारै समृद्धिको शुरुवात भएको छ ।’
संझौताका लागि काठमाडौंमा रहेका पालिका अध्यक्ष केरुङले स्वास्थ्य बिमामार्फत यहाँका अस्पतालबाट नै गुणस्तरिय सेवा दिन गाउँपालिका प्रतिवद्ध भएको जानकारी दिए । स्वास्थ्य बिमा कार्यक्रम सुचारु भएपछि चुलाचुली नागरिकहरुले थोरै भएपनि राहत पाउने उनले दावी गरे ।

Leave a Reply

Your email address will not be published.