झापा,१९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापा शाखाको सातौ जिल्ला अधिबेशनको तयारी पूरा भएको छ । आज शनिवार विहान ११ वजे बिर्तामोडस्थित सिटी सेन्टरमा हुने जिल्ला अधिबेशनसहितका सवै कार्यक्रमको तयारी पूरा भएको अध्यक्ष भूमिका फियाक सुब्बाले बताईन् ।
फोनिजका संघीय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यतामा हुने अधिबेशन उद्घाटनमा सोहि अधिबेशनको उद्घाटनका अवसरमा फोनिज झापाले वितरण गर्देआएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार, दुई जनालाई फोनिज उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिनुका साथैं फोनिज झापाले प्रकाशन गरेको स्मारिकाको बिमोचन गरिने कार्यक्रम रहेको छ ।
फोनिजका जिल्ला सचिव तिलक योञ्जनका अनुसार स्व. डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट झापा, दमकका पूराना पत्रकार विष्णु सुब्बा र फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत दमकका सजन राईलाई प्रदान गरिने छन् ।
डिकमान पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ र उदीयमान पत्रकारिता पुरस्कारको राशि ५÷५ हजार रूपैयाँ रहेको छ ।
यसैगरि, जिल्ला अधिबेशनको बन्दसत्रले फोनिज झापाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरिने कार्यक्रम रहेको फोनिज झापाका पूर्व अध्यक्ष गणेशमान मुखियाले बताए ।