प्रजातान्त्रिक आन्दोलनका योद्धा आङ्देम्बेको निधन

हल्दिबारी ,१८ माघ । प्रजातान्त्रिक आन्दोलनका योद्धा झापा, हल्दिबारी–५ निवासी अमृतबहादुर आङ्देम्बेको ९९ बर्षको उमेरमा शुक्रबार निधन भएको छ ।१९८२ सालमा पाँचथरको नवमीडाँडा–८ मा जन्मिएका आङदेम्बे उनी लामोसमयदेखि हल्दिबारी–५ (साविक जलथल–९) मा बसोबास गर्दै आएका थिए ।
नेपाली कांग्रेसले सञ्चालन गरेको मुक्तिसेनाका रुपमा सक्रिय आङ्देम्बेलाई ‘चार सरकार’का उपनामले चिनिन्छ ।
त्यससमय महामानव वीपी कोइराला, अग्रज प्रजातान्त्रिक योद्धाहरु भूविक्रम नेम्बाङ, देवान दोर्जे, प्रेमराज आङ्देम्बे, मच्छिन्द्रबहादुर केरुङ लगायतका नेताहरुको निकटतम रहेर उनले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका छोराहरु नरविर, हस्तबहादुर, हर्कबहादुर, विष्णुबहादुर र छोरीहरु टिका र श्रीमाया आङदेम्बे छन् । उनको श्रीमती नरिमायाको दुईमहिना अघि र पाँचछोरामध्ये जेठा छोराको यसअघि नै निधन भइसकेको छ ।
हल्दिबारी–५ का वडाध्यक्ष खड्गबहादुर लावतीका अनुसार शनिबार विहान ११ बजे निजी निवासबाट शवयात्रा प्रारम्भ भई चारकोसे झाडीस्थित चिहानडाँडामा अन्तिम संस्कार गरिने छ ।
मृतक आङदेम्बेको पार्थिव शरीरमा शनिबार पार्टीको झण्डा ओढाउने कार्यक्रम तय भएको नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले जानकारी दिए । यसैबीच नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अग्रज प्रजातन्त्र सेनानी अमृतबहादुर आङदेम्बेको निधनले कांग्रेसलाई अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.