
झापा,१२ माघ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ ।
राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ । विसं २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।
अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।
सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।
आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताए । पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृतरुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने जनाए । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।
पुरुष भन्दा महिला धेरै
२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ । कुल २ करोड ९१ लाख ९२ हजार ८४० जनासंख्या मध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ भने पुरुषको संख्या १ कारोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ ।
जसअनुसार पुरुषको जनसंख्याको प्रतिशत ४८.९६ र महिलाको जनसंख्याको प्रतिशत ५१.०४ प्रतिशत रहेको छ । तथ्यांकअनुसार १० वर्षको अवधिमा पुरुषको संख्या १४ लाख ४२ हजार २७० र महिलाको संख्या १२ लाख ५५ हजार ७०६ जना बढेको छ ।