
दमक,९ माघ । दमकको सरकारी अस्पताल दमक अस्पतालका चिकित्सकको गलत उपचारका कारण झापा, कमल गाउँपालिका ५ सिम्लेकी एक जना सुत्केरी महिलाको मृत्यु भएको घटना बाहिर आएको छ । गत माघ १ गते अस्पतालमा नर्मल डेलिभेरी भएकी १९ बर्षिया अरुणा आङदेम्बेको अत्याधिक रक्तश्रावका कारण हिजो शनिवार मृत्युभएको पीडित परिवारले बताएका छन् ।
मृतकका आफन्त आइतहाङ लिम्बूका अनुसार माघ १ गते सुत्केरी व्याथा लागेर सामान्य अवस्थामा २ केजी ८ सय ग्रामको शिशु सकुसल जन्माएकी थिईन् । अस्पतालका चिकित्सकले सामान्य अवस्थामा डेलिभेरी भएका भनिएपनि केहि घण्टा पछि विरामीलाई रगत चाहिने भन्दै २ पिन्ट रगत दिईएको उनले बताए । अत्याधिक रक्तस्राव हुदै गएकाले सुत्केरीको अवस्था केहि जटिल बन्दै गएपछि भोलिपल्ट आफनै कर्मचारी लगाएर विरामीलाई विराटनगरस्थित नोवेल शिक्षण अस्पताल पठाएको आइतहाङले बताए । माघ २ गते नोवेलमा उपचार गरिआएका सुत्केरीको माघ ८ गते अपरान्ह मृत्युभएको थियो ।
शुरुवाती उपचारस्थलमा नै प्राविधिक रुपमा गलत गरेका कारण विरामीको अवस्था यस्तो भएको भन्ने नोवेलका चिकित्सकको भनाई उद्दृत गर्दे आइतहाङले भने, –‘ दमक अस्पतालमा चिकित्सकको लार्पावाहीका कारण हाम्रो विरामीले अकालमै ज्यान गुमाउनुपरेको छ । दोषी चिकित्सकमाथि कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्छ ’
सामान्य डेलिभेरी भएको भनिएपनि सुत्केरीलाई १६ घण्टासम्म रक्तस्राव हुदाँ सम्म आलटाल गरि राखिरहनु तथा गंभीर अवस्थामा पुगेपछि परिवारलाई जानकारी बिना हतारहतार एम्बुलेन्स खोजेर नोवेल अस्पताल लैजान तयार गरेपछि मात्र खबर गर्नुले अस्पतालको त्रुटि भएको पुष्टि हुने मृतकका श्रीमान दिजन राईले बताए ।
स्वास्थ्य बिमाबाट उपचार गर्दा पैसा नलाग्ने लोभले दमक अस्पतालमा विरामी लैजादा विरामीले अकालमै ज्यान गुमाउनु परेको उनको आरोप छ ।
दमक १ मा अवस्थित जिल्ला स्तरको अनुमति पाएको २५ शैयाको उक्त अस्पतालमा केहि समय अघिदेखि सुत्केरी सेवा विस्तार गरेको थियो ।
तर, यता दमक अस्पतालले भने सुत्केरीको उपचारमा कुनै लार्पावाही नभएको दावी गरिआएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खडग लिम्बूले सुत्केरीको उपचारमा कुनै त्रुटी नभएको भन्दै त्यसमा चिकित्सकको लार्पावाही नभएको दावी गरे । प्रजननका क्रममा रक्तश्राव आउनु स्वाभाविक भएपनि ती महिलामा भने रक्तश्राव अत्याधिक भएकाो भन्दै त्यो घटना भवितव्य रुपमा देखिएको उनको भनाई छ ।
छानवीन समिति गठन
यसैवीच , सुत्केरी महिलाको मृत्युको घटनाका बारे आज नगरपालिकामा पीडित पक्ष,अस्पताल र जनप्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको थियो । नगर प्रमुख रोमनाथ ओलीको उपस्थितिमा भएको छलफलले मृतक महिलाको घटनाका बारे अनुसन्धान गर्ने, दोषी ठहरिए घटनामा संलग्नलाई कारवाही गर्ने तथा मृतकको दाहसंस्कारका लागि त्तत्काल रु १ लाख सहयोग उपलव्ध गराउने निर्णय भएको छ । अनुसन्धान र क्षतिपूर्ति सम्बन्धमा डा. शंकर प्रसाद हुजदारको संयोजकत्वमा पीडितपक्ष, जनप्रतिनिधि ,अस्पतालका प्रतिनिधिसहितको सहभागिता रहने गरि ७ सदस्यीय छानवीन समिति गठन गरि पाँच दिन भित्रमा प्रतिवेदन नगरपालिकामा पेश गर्ने निर्णय भएको बताइएको छ ।