धरान,५ माघ । खुकुरी प्रहारबाट धरान उपमहानगरपालिका वडा –५ मा एक जना पुरुषको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् ।बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा परी स्थानीय २५ वर्षीय मञ्जु खड्का राई गम्भीर घाइते भएको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले बताए । उनले भने , “मर्ने र मार्ने दुवै जना साथी हो । कुमार बिहान साथीको घरमा आएका थिए । विकासका बाबुले छोरालाई चिया पकाउन लगाएर आफू दोकान गएको थियो । फर्केर आउँदा छोराले आफ्नै साथीलाई मारिसकेको रहेछ ।” मृतक बुढाथोकीको ढाड र कोखामा चोट रहेको प्रहरीले जनाएको छ ।
साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जु खड्काकोे घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको स्थानीयहरुले बताएका छन् । घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई नजिकै रहेको सागबारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचारका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको छ । मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको कारणबारे नखुले पनि, विकास लागुऔषध प्रयोगकर्ता रहेको वडाध्यक्ष लिम्बूले बताए ।