मुख्यमन्त्री कार्कीद्धारा दमकको आगोलागी घटनास्थलको अनुगमन

दमक,२ माघ । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक ६ स्थित नमुना वजारमा आइतवार विहान भएको आगलागी घटनाको स्थलगत जानकारी लिएका छन् ।दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतवार साँझ आगलागीस्थलमा पुगेर घटनाका बारेमा जानकारी लिएका हुन् ।
उनलाई नगर प्रमुख थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डिएसपी दिलीप कुमार गिरीले घटनाका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै, उनले यहाँका आगलागी पीडित व्यवसायीहरुसंग समेत घटनाका बारेमा संवाद गरेका थिए । मुख्यमन्त्री समक्ष पीडितहरुले आफूहरुलाई पूनःस्र्थापित तथा राहतमा सहयोग पुरयाँई दिन माग राखेका थिए ।
त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी प्रशासनलाई घटनाको सत्यतथ्य छानविन गर्न निर्देशन दिए । अपराधिक मनासयले यो घटना गराएको भए दोषीलाई कार्वाही गर्न कुनै पनि कसुर नछोड्न समेत उनले निर्देशन दिए ।
पीडित बनेका यहाँका व्यवसायीहरुलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र यहाँका राजनीतिक दल ,संघसंस्थाको सक्रियता पहिलो हुने उल्लेख गर्दे उनले भने, –‘प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने र गर्न मिल्ने सम्मको राहत आफुले तुरुन्तै उपलब्ध गराउने छु ।’
घटनामा ६ वटा पसल पूर्ण रुपमा क्षति भएको तथा अन्य ३ वटा पसलका सबै सामान जल्दा करिव रु २ करोड बढीको धनमालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगजनी गर्ने एक पक्राउ
आइतवार विहान दमक ६ स्थित नमुना वजारको पसलमा लागेको आगलागी विद्युत सर्ट नभई दुई जना व्यक्तिले लगाएको पाईएको छ । सिसिटीभी फूटेजको सहयोगमा अनुसन्धान गर्दा दुई व्यक्तिले आगजनी गरेको देखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीले आगजनीमा संलग्न एक जनालाई पक्राउ गरिसकेको छ । आगजनीबाट त्यहाँका कपडा, जुत्ताचप्पल पसल तथा ट्रेलरिङ सेन्टर गरी ९ वटा पसल पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । उनका अनुसार आगलागीबाट करिव रु दुई करोड बराबरको धनमाल क्षति हुन पुगेको छ । यद्यपि, क्षतिको विवरण पूर्ण रुपमा संकलन भइसकेको छैन् ।
प्रहरीका अनुसार आगलागीबाट राजु श्रेष्ठ,संगीता श्रेष्ठ,विजय श्रेष्ठ,कृष्ण न्यौपाने र पुनम घिमीरेको पसल पूर्ण रुपमा जलेर नष्ट भएको थियो भने घटनास्थल छेउछाउका चार वटा पसलहरु भत्काउनु परेको थियो ।
प्रनाउ गिरीले सिसीटिभीको फुटेज हेर्दा दुईजना व्यक्ति मध्ये एकजनाले पेट्रोल खनाएको र अर्कोले भने लाइटरले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । पक्राउ परेका ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन् भने फरार अर्काको खोजी भईरहेको उनले बताए । पक्राउ परेकाले घटनामा आफनो संलग्नता स्वीकार गरिसकेको प्रहरीको दावी छ ।

Leave a Reply

Your email address will not be published.