झापा , २८ पुस । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनी २० असोजमा पक्राउ परेका थिए ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा विभिन्न सर्त राखिएको र सर्त उल्लंघन गरेमा पुन पक्राउ गर्न सकिने व्यवस्था राखिएको छ । २० पृष्ठ लामो आदेशमा सर्तसहित धरौटी खोलिएको छ । आदेश प्रमाणीकरणको काम भइरहेको रजिष्ट्रार कट्टेलले बताए ।
तर सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।