माघ ६ मा ‘दउबा संघ’को निर्वाचन, रस्साकस्सी सुरु

दमक,२७ पुस । दमक उद्योग बाणिज्य संघको निर्वाचन नजिकिएसंगै चुनावी सरगर्मी बढेर गएको छ । माघ ६ गते निर्वाचनको मिति तयसंगै निर्वाचनको कार्यक्रम सार्वजनिक गरिएपछि नेतृत्वको रस्साकस्सी शुरु हुन थालेको छ ।
नेतृत्वमा दलगत रुपमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका व्यवसायीवीच नै प्रतिष्पर्धा हुने जनाइएको छ । एमाले निकट व्यवसायीका तर्फबाट बिमल खतिवडा र गोपाल गुरागाईले नेतृत्वमा दावी गरिआएका छन् । उम्मेदवार मनोनयन अघिनै नेतृत्वमा दुई जना वीच एक जनाले पाउने एमाले निकट व्यवसायी संगठनका एक नेताले बताएका छन् । संघमा नेतृत्व गरिआएको कांग्रेस निकटका व्यवसायीहरुको संस्था लोकतान्त्रिक व्यवसायी संघले नेतृत्वमा अहिलेसम्म कसैको पनि नाम बाहिर ल्याएका छैनन् ।यद्यपि , कांग्रेस दमक नगर सभापति समेत रहेका बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईको पनि अध्यक्षमा चर्चा छ । उनले संघको नेतृत्वमा पुनः इच्छा राखेको बुझिएको छ ।
यता , हालको कार्यसमितिका केहि अगुवाहरुले भने बाणिज्य संघको नेतृत्वलाई सर्वसम्मत बनाउन लागिपरेका छन् । संघका वर्तमान अध्यक्ष गोकुल श्रेष्ठले संघलाई सवै दल निकटका व्यवसायीहरुलाई समेटेर साझा संस्था बनाउन प्रयास भईरहेको उल्लेख गरेका छन् । तर, त्यस्तो प्रयास सफल हुनेमा कमै संभावना भएको बुझिएको छ ।
संघको गत पुस २२ गते ३१ औ बार्षिक साधारणसभाले निर्वाचनको मितिसहित निर्वाचन सम्पन्न गर्न पाँच सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो । त्यो समितिले जिम्मेवारी बुझेसंगै नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका अनुसार काम अघि बढाएको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
निर्वाचन सम्पन्न गर्न लीला गुरागाईको संयोजक पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । उक्त निर्वाचन समितिले सोमबारदेखि नै निर्वाचन कार्य तालिका सार्वजनिक गरेको र मंगलवारदेखि भने निर्वाचन सम्बन्धी थप काम शुरु गरिएको संयोजक  गुरागाईले बताएका छन् ।गठित निर्वाचन समितिमा प्रदिप कोइराला, घनश्याम न्यौपाने, सुशिल निरौला र शेषकुमार निरौला सदस्य छन् ।
निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार पुष २६ मा मतदाता नामावली र आज पुष २७ गते बिहान १०ः३० देखि दिउँसो २ बजेसम्मलाई मतदाता उपर दावी विरोध तोकिएको छ ।
त्यस्तै अन्तिम मतदाता नामावली प्रकाशन दिउँसो ३ः३० बजे हुने सूचनामा उल्लेख छ । त्यस्तै,पुष २९ गते बिहान १०ः३० देखि दिउँसो २ः३० बजेसम्म उम्मेद्वरको मनोनयन दर्तासमय तोकिएको छ भने अपरान्ह ४ बजे उम्मेद्वारको दर्ता नामावली प्रकाशन हुनेछ ।
उम्मेद्वारको नामावली माथि दावी विरोधको समय पुष ३० गते बिहान १०ः३० देखिमध्यान्ह १२ः३० सम्मलाई तोकिएको छ भने त्यस्ता दावीविरोध पश्चात उम्मेद्वारको नामावली दिउँसो २ बजे प्रकाशित हुनेछ ।
निर्वाचन समितिले माघ १ गते बिहान ११ बजेदेखि माघ २ गते दिउँसो २ः३०बजेसम्म उम्मेद्वरको मनोनयन फिर्ता,दिउँसो ३ः३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ ।
यस्रगरि, सहमति नभए माघ ६ गते बिहान ८ः३० देखि दिउँसो ३ बजेसम्म मतदान कार्य हुने र मतदानपश्चात मत गणना कार्य गरिने जारी सूचनामा उल्लेख छ ।
मतदान कार्यक्रम दमक ७ पशुहाटस्थित ७ नम्बर वडा कार्यालयमा सम्पन्न हुनेछ भने निर्वाचनका बाँकी सबै कार्यक्रम संघको कार्यालयबाटै सम्पादन हुने संयोजक गुरागाईले जानकारी दिए ।
निर्वाचनबाट संघको २५ सदस्यीय संघको कार्य समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित हुने छन् । जसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष र महिला उपाध्यक्ष १–१ पदका लागि निर्वाचन हुनेछ भने संघका निवर्तमान अध्यक्ष पदेन पदाधिकारी हुने वैधानिक व्यवस्था छ ।
त्यसैगरी महिला सदस्य २, वस्तुगत सदस्य ७, खुल्ला सदस्य ६, जना सदस्यपदका लागि निर्वाचित हुनेछन् । त्यसैगरी लेखा समिति संयोजक १ र सदस्य २ का लागि पनि निर्वाचन हुनेछ । निर्वाचित समितिको बैठकले थप १ महिलासहित ३ सदस्य मनोनित गर्ने प्रावधान रहेको जनाईएको छ ।यसपटकको निर्वाचनमा २०१६ जना मतदाता छन् ।

Leave a Reply

Your email address will not be published.