पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

झापा, २५ पुस । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२-०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।

यसवर्ष सरकार निर्माणका लागि महत्वपूर्ण घटक राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन २७ पुसमा सार्वजनिक विदा दिनुपर्ने अडान नै राखेको थियो । जसलाई सरकारले स्वीकार गरेको हो ।
यसैवीच, सरकारको उक्त निर्णय प्रति मधेशी तथा जनजातिहरुले असन्तुष्टि जनाएका छन् । निर्णयको विरोधमा नेपाल जनजाति महासंघले देशैभरि विरोधका कार्यक्रम गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.