
झापा ,२५ पुस (एजेन्सी) । पछिल्लो समय विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ । युरोपबाट सुरु भएको कोभिडको पछिल्लो लहर पश्चिमका बिभिन्न देश हुँदै दक्षिण एसियासम्म फैलिएको छ । विश्वमा औषतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औषतमा दैनिक संक्रमितको संख्या २१ लाख ६ हजार ११८ पुगेको छ ।
दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम साता कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विश्वव्यापी रुपमा संक्रमित दर २७० प्रतिशत छ । संक्रमित दर बढे पनि मृत्यु दर भने सन् २०२० को अक्टोबर यताकै सबैभन्दा थोरै देखिएका छन् । अहिले कोभिडबाट औषतमा दैनिक ६ हजार २३७ जना संक्रमितको मृत्यु भएको छ ।
अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको विज्ञहरुले बताए पनि यस संक्रमणका कारण विश्वको स्वास्थ्य प्रणाली नै तहस नहस हुने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
संक्रमित बढेपछि विभिन्न देशले लकडाउनलगायतका प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । यस्तो प्रतिबन्ध लगाउनेमा युरोपेली देशहरु अग्रपंक्तिमा छन् । भाइरस नियन्त्रण गर्न भन्दै विभिन्न देशहरुले खोप कार्यक्रमलाई तीव्र पार्दे आएका छन् ।
युरोपबाहेक अमेरिका र क्यानडा कोभिडको हटस्पट बनेका छन् । विश्वका कूल संक्रमितमध्ये ४९ प्रतिशत अमेरिका र ३३ प्रतिशत क्यानडाका छन् ।
युरोपमा कोभिड संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको छ । त्यस्तै, पछिल्लो एक सातामा प्रशान्त महासागर क्षेत्रमा २२४ प्रतिशत, ल्याटिन अमेरिकी देशमा १४८ प्रतिशत, मध्यपूर्वमा ११६ प्रतिशत र एसियामा १४५ प्रतिशतले कोभिड बढेको छ ।
सन् २०२० मा महामारी सुरु भएको अफ्रिकामा पछिल्लो समयमा संक्रमण दर स्थिर छ भने दक्षिण एशियाली देशमा भारतमा संक्रमण दर बढ्दो देखिन्छ ।
भारतमा एकैदिन डेढ लाखभन्दा बढी संक्रमित थपिए
छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड -१९ का संक्रमित अचानक बढ्न थालेका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, आइतबारसम्म कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ ।
महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ । संक्रमितको संख्या एक्कासि बढ्न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिन (शनिबार) र (आइतबार )कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ ।
यसैबीच, आईआईटी कानपुरका प्राध्यापक मनिन्द्र अग्रवालले यसै महिनाको मध्यसम्ममा दिल्ली र मुम्बई जस्ता प्रमुख शहरमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने बताएका छन् । तेस्रो लहरमा दैनिक संक्रमितको संख्या दोस्रो लहरको भन्दा झण्डै दोब्बर अर्थात् ८ लाखसम्म पुगेको उनको अनुमान रहेको छ ।