
बिर्तामोड ,२४ पुस। नेकपा एमाले झापाको अध्यक्षमा दिपक कार्की निर्वाचित भएका छन् । आज १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेद्वारी दर्ताको क्रममा अध्यक्षमा कार्कीको मात्र उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध चुनिएका हुन् ।
पदाधिकारीतर्फ अध्यक्षमा कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका छन् । उपसचिवमा रेनुका डाँगीको चर्चा भए पनि उनी मापदण्डमा नपरेका कारण उम्मेद्वार हुनबाट बन्चित भएकी थिइन्।
१५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । कतिले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले नामावली प्रकाशन गर्न बाँकी रहेको निर्वाचन समिति स्रोतले जनायो ।
यस्तै, पत्रकार तर्फ मोहन काजी न्यौपाने सर्वसम्मत भइसकेका छन् । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो । सो कोटामा उनको बाहेक उम्मेद्वारी परेको छैन् । भूमिहीन संगठनबाट टिकाराम मंग्राती एक जनाले मात्रै उम्मेद्वारी दिएका छन् । निर्वाचन समितिले उम्मेद्वारी दर्ता गर्नेहरुको अन्तिम नामावली प्रकाशनको तयारी थालेको छ ।उम्मेदवारको अन्तिम नामावली साँझ ८ बज्ने प्रकाशन गर्ने बुझिएको छ ।