रतुवा खोला अवैध उत्खनन, उत्खनन रोक्न नगरपालिकाको निर्देशन

दमक, २३ पुस । झापाको दमक र इलामको चुलाचुलीको सीमाबाट बग्ने रतुवा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भएको पाइएको छ । खोलामा अवैध रूपमा जेसीबीको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थ झिकिरहेको सूचना पाएपछि निरीक्षणमा गएर त्यो रोक्न निर्देशन दिइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए ।
दमक नगरपालिकामा बारम्बार भएको छलफलमा सरोकारवाला पालिकाले आपसी समझदारीमा तोकिएको ठाँउबाट मात्र र एकद्वार प्रणालीबाट खोला उत्खनन गर्ने सहमति भए पनि अवैध रूपमा खोला उत्खनन भएको पाइएको बताइएको छ । खोलामा ठूलाठूला खाल्डा बनाएर जोखिम नै सिर्जना हुने अवस्था देखिएपछि दुई पालिकाका जनप्रतिनिधिबीच पनि छलफल भएको थियो ।
थापाले भने, “एउटा समूहले अड्डा जमाएर अवैध उत्खनन गरेको भेटिएपछि रोक्न निर्देशन दिएका छौँ।” नगरपालिकाबाट गएको टोली र त्यहाँ अवैध रूपमा बालुवा उत्खनन गरिरहेको टोलीबीच विवाद सिर्जना भएकोसमेत त्यहाँका प्रत्यक्षदर्शीले बताएका छन् ।
इलाका प्रहरी कार्यालय दमकको टोलीले अवैध उत्खननमा प्रयोग भएको जेसीबी र केहि टिप्परहरू नियन्त्रणमा लिएको जनाइएको छ । स्थानीय चुलाचुली गाउँपालिकाको एक वडाले सडक मर्मत सम्भारका लागि भनेर लिखित रूपमा दुई दिन जेसीबी प्रयोग गर्न अनुमति दिएको पत्र भेटिएको प्रहरी स्रोतको भनाइ छ । यसरी वडा कार्यालयले खोला उत्खनन गर्न दिनु नै अवैध रहेको छ ।
बर्सेनि अवैध रूपमा खोलानालाहरू उत्खननले गर्दा स्थानीयहरू समस्यामा पर्दै आएका छन् । खोलाले आफ्नो धार नै परिवर्तन गर्ने र आसपासको क्षेत्रमा ट्युबेलमा पानी नआउने समस्या हुँदै आएको खोला आसपासका बासिन्दाको गुनासो छ । दमक–२ का वडाध्यक्ष प्रजापती सापकोटाका अनुसार अवैध रूपमा भइरहेको उत्खनन रोक्नलाई बारम्बार प्रशासनसँग हारगुहार गर्नुपर्ने अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published.