
झापा,२३ पुस । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ७७ जिल्ला अधिवेशन आज शुक्रबार हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयमा स्थापित ‘एक्सन रुम’ बाट जिल्ला अधिवेशनको उद्घाटन एवं सम्बोधन गर्ने कार्यक्रम छ ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट देशभरका जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन एवं सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि एमालेले देशभर एकैदिन वडा अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरेको थियो । सो अधिवेशनमा पनि अध्यक्ष ओलीले केन्द्रीय एक्सन रुमबाटै उद्घाटन एवं सम्बोधन गरेका थिए।
एमाले झापाको नेतृत्व सहमतिबाटै
नेकपा एमालेको १० औं झापा जिल्ला अधिवेशन आजदेखि बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुरु हुदैछ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
झापा एमालेमा सहमतिबाटै नयाँ नेतृत्वका लागि नेताहरु बीच छलफल भइरहेको बुझिएको छ । सहमति र सहकार्यबाटै नेतृत्व चयन हुने भएका कारण बृहत भेला नगरी अधिवेशन सम्पन्न गरिदैछ । १० औं अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा प्रतिनिधिलाई १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै राखिने छ ।
अध्यक्षमा कार्कीको टुंगो
एमाले झापाको अधिवेशनमा नयाँ नेतृत्वको बारेमा थारै मात्र चर्चा भएको बुझिएको छ । केन्द्रीय नेतृत्व र जिल्लाका नेतृत्वहरु बीचमा भद्र सहमतिबाटै नयाँ नेतृत्व सर्वसम्मत गर्ने सूचना बाहिर आएको छ । प्राप्त सूचना अनुसार अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुने धेरै संभावना छ । अहिलेसम्मको सहमति कार्यान्वयन हुदाँअध्यक्षमा संविधानसभा सदस्य दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा असारु राजवंशी र रेनुका डाँगीले जिम्मेवारी पाउने पक्का भएको छ । सहमति कार्यान्वयन भए पनि सदस्य पद्मा निर्वाचनको संभावना रहेको नेताहरुको भनाई छ । सहमति तोडिएमा मात्रै पदाधिकारीमा निर्वाचन हुने आंकलन गरिएको छ ।
अबको जिल्ला कमिटी १८१ सदस्य बन्नेछ । अधिवेशनबाट निर्वाचित १५०, त्यसको १० प्रतिशत बराबर १५ जना र अन्य पार्टीबाट एमालेमा समाहित भएका नेता कार्यकर्ताका लाथि थप १० प्रतिशत बराबर १५ गरेर १८० सदस्य बनाइने भएको छ । १८० मा पनि थप १ जना गरेर १८१ सदस्य जिल्ला कमिटी बनाइने बुझिएको छ ।