फरक धारको चलचित्र ‘बिगुल’ देशभर प्रदर्शनमा आउदैं

दमक,२३ पुस । जेएनजी आन्दोलनमा समर्पित फरक धारको नेपाली चलचित्र ‘बिगुल’ माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।आगामी माघ ९ गते देखि देशभरका सिनेमा घरहरुबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र “बिगुल’’ को बारेमा बुधबार दमकमा अन्तर्किया गरिएको छ ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका चलचित्रका कथाकार तथा निर्माता दिनेश कोईरालाले चलचित्रमा जेनजी पुस्ताले गत भदौमा गरेको आन्दोलनको बिषय जस्तै कथाबस्तु रहेको बताए । यद्यपि उक्त आन्दोलनभन्दा चार महिनाअघि नै यसै विषय केन्द्रित भई फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको भन्दै निर्माता कोईरालाले आफु पनि राजनीतिकर्मी भएका कारण देशको बेथिति र बिसंगतिका बारेमा चलचित्र तयार गरेको बताए । ‘बिगुल’ मा आफुहरुले उठाएको मूल मुद्दा र पछि जेनजी पुस्ताले उठाएका माग, देश विकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएकाले यो चलचित्रलाई जेनजी आन्दोलनप्रति समर्पित गरेको उनको भनाई छ ।
कार्यक्रममा चलचित्रको टेलर सहित चलचित्रमा समावेश रहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द तथा संगीतमा रहेको गीत समेत देखाईएको थियो । चलचित्रको

टेलर र गीत हेरिसकेपछि दमकका राजनैतिक तथा सांस्कृतिक क्षेत्रका अगुवाहरुले खुलेर तारिफ गरेका थिए ।अन्तक्रिया कार्यक्रमको अध्यक्षता गरेका दमक जेसीजका अध्यक्ष सहदेव भट्टराईले बिगुल चलचित्रले युवा र महिलामा चेतना जगाई भ्रष्टाचार र विकृति उन्मुलनका लागि अभियान चलाएको बताए ।

नेपाल जेसीजका पूर्व महासचिव तथा दमक जेसीजका पूर्व अध्यक्ष नित्यानन्द ताजपुरियाले चलचित्र अहिलेको समयसापेक्ष रहेको भन्दे नेपालीहरुको अन्तरआत्माको प्रस्फुटित बिगुल भएको उल्लेख गरे । चलचित्र बितरक तथा पाथीभरा चित्र मन्दिर दमकका सञ्चालक चैतन्य बरालले चलचित्रमा सशक्त कलाकारहरु रहेको र टेलर हेर्दा चलचित्रलाई दर्शकले मन पराउने उल्लेख गरे । सांस्कृतिक संघ झापा जिल्ला उपाध्यक्ष गोमा नेपालले चलचित्र हेर्न आतुर भएको उल्लेख गरिन् । टेलर हेर्दा बिगुल चलचित्र अहिलेको समसामयिक परिवेशसंग मिल्ने खालको देखिएकाले सबैले मन पराउने उनको भनाई थियो ।

रमेश कोइरालाको निर्देशन र कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रमा दिनेश कोइरालाको कथा र निर्माण रहेको छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको छ भने चलचित्रका सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला हुन् ।

Leave a Reply

Your email address will not be published.