पथरी शनिश्चरे,२३ पुस । पूर्वी मोरङकै नाट्य विधामा संलग्नकर्मीहरूको लागि पथरी शनिश्चरेमा नाट्यशाला निर्माण स्थलको टुङ्गो लागेको छ ।शब्द थिएटर पथरी शनिश्चरेले एक कार्यक्रमको आयोजना गर्दै पूर्वी मोरङका नाट्यकर्मी तथा कलाकारहरूको लागि भव्य नाट्यशाला निर्माण स्थलको टुङ्गो लागेको जनाएको हो।
शब्द थिएटर पथरी शनिश्चरेका अध्यक्ष अशोक साम्पाङका अनुसार स्थानीय जग्गादाता हिरा तिम्सिनाले कलाकारहरूको कलाकृति प्रस्फुटन विकास र सम्बर्धनका लागि करिव ४० लाख बढी मूल्य पर्ने तीन कठ्ठा जमिन निःशुल्क प्रदान गरेका छन् ।
पथरी शनिश्चरे वडा नं २ का वडाअध्यक्ष नैना राईको प्रमुख आतिथ्यतामा सोमबार भएको नाट्यकर्मीहरुको भेलामा सहभागिहरुले कला क्षेत्रको वृद्धिविकासमा यहाँ प्रशस्त संभावना भएपनि रंगमञ्चस्थलको अभाव हुदाँ यो क्षेत्रको समुचित प्रवद्र्धन हुन नसकेको उल्लेख गरेका थिए ।
उनीहरुले समाजसंग प्रत्यक्ष जोडिएका नाट्य क्षेत्रको प्रवद्र्धन गर्न स्थानीय सरकारले सहयोग पुरयाँउन आग्रह गरेका थिए । नाट्यशालालाई निर्माण गर्न तत्कालै वडा कार्यालयले २ लाख विनियोजन गर्ने र आवश्यक बजेटका लागि आगामी नगरसभामा माग गर्ने उल्लेख गरे ।
कार्यक्रममा पथरी शनिश्चरे नगरका लोकप्रिय साहित्यकार तथा सञ्चारकर्मी भूपेन्द्र तिम्सिनालगायतका नाट्यकर्मी, समाजसेवी, बौद्धिक व्यक्तित्व, कलाकारहरू ,पत्रकार सहितको उपस्थिति थियो।