पाठकविहिन बन्दै झापाका पुस्तकालयहरु

गौरीगञ्जमाको त्रिभुवन आदर्श पुस्तकालय


दमक ,२२ पुस । पछिल्लो समय विद्युतीय प्रविधिमा सर्वसाधारणको पहुँच पुगेसंगै पुस्तकालयमा अध्ययन गर्ने क्रम हराउदै गएको छ । प्रविधिमार्फत मानिसले फेसबुक ,यूटयूव ,टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिएसंगै झापाका अधिकांस पुस्तकालयहरु यतिखेर पाठकविहीनको अवस्थामा पुगेका छन् ।
अधिकांस युवा पुस्ता इन्टरनेटमा अल्मिल्लिएपछि पुस्तक अध्ययनमा कमी आउन थालेको पुस्तकालय सञ्चालकहरु बताउँछन् ।
विक्रम सम्बत २००७ सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो सरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनामझै वन्न पुगेकोछ । ऐतिहासिक महत्व बोकेको करिव सातदशक पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा पुगेको हो ।
पश्चिम झापाको गौरीगञ्जमा २०११ सालमा स्थापना भएको अर्काे ऐतिहासिक महत्वको त्रिभुवन आदर्श पुस्तकालय समेत पाठक गुमाइसकेको छ । खजुरगाछी बजारमा दुई कठ्ठा जग्गामा निर्माण भएको एक तले पक्की भवनमा यो पुस्तकालय बनेको थियो । एक हजार पुस्तक संग्रहित यो पुस्तकालयको गौरादह–९ मा आफ्नै स्वामित्व रहेको खेतीयोग्य तीन विगाहा जमिन पनि छ ।
मुलुकभरमै कहलिएको मेचीनगरको त्रिफला राष्ट्रिय पुस्तकालय र गौरादहको गौरादह सामुदायिक पुस्तकालयको हालत पनि उस्तै छ । ती दुवै पुस्तकालयमा कोरोनाकालमा पाठक नपाउने समस्याले प्रभावित बनायो । यी पुस्तकालयमा अहिले भने क्रमशः पाठक बढ्न थालेका छन् । भौतिक साधन स्रोतले सक्षम भएपनि पुस्तकालय प्रति अध्ययनमा रुची राख्ने नयाँ पुस्ता आकर्षित नहुँदा पुस्तकालय सुनसान भएको सरोकारवालाहरु बताउँछन् । करीब रु ५ करोडको सम्पत्ति जोडिसकेको क्रिफला पुस्तकालयले भोगिरहेको सबैभन्दा ठूलो चुनौती भनेकै पाठक आकर्षित गर्न नसक्नु हो भन्छन् अध्येताहरु । पाठक नपाएर झापाका १० देखि १२ वटा पुस्तकालय हालसालै बन्द भइसकेको पुस्तकालय संघ झापाका अध्यक्ष प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ले जानकारी दिए ।
धेरै पुस्तकालय बन्द भइसके भएपनि त्रिफला पुस्तकालयमा कोरोनाकाल सकिए पछि पाठक आउन थालेका छन्, विशेष गरेर भारतको दार्जिलिङ, सिक्कमहुँदै मनिपुरसम्मका मान्छे अनुसन्धान र खोज गर्न आइरहेको पोखरेल बताउँछन् ।साहित्यिक दिवसहरुमा विभिन्न कार्यक्रम गरेर त्रिफलाले पाठकहरुलाई पुस्तकालयभित्र छिराउने प्रयास गरेपनि पुस्तक पढ्नै भनेर आउने पाठकको संख्या एकदमै न्यून हुँदै गएको अध्यक्ष फलाहारी स्वीकार्छन् । उनी भन्छन्, –‘ सूचना,प्रविधिमा आएको आधुनिकताले हाम्रा पुस्तकालयहरु प्रभावित हुन पुगेका भएपनि ठप्प बन्दै हुने अवस्थामा भने छैनन्’ पुस्तकालय संरक्षण गर्न राज्यले पनि चासो दिनुपर्ने उनको सुझाव छ ।
विस २००८ सालमा स्थापनाभएको देशकै चर्चित भद्रपुर पुस्तकालय प्रयोगविहिन छ । चन्द्रगढीको लेखनाथ पुस्तकालयमा फाटफुट पाठक आएपनि पहिलेको तुलनामा पाठक छैनन् । भाषाविद् चूडामणि रेग्मीलगायतको अगुवाइमा २०३५ सालमा स्थापना भएको लेखनाथ पुस्तकालयमा सबै विधाका पाँचहजार भन्दा बढी पुस्तक संग्रह गरिएको छ ।
पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभवलाई अझ परिष्कृत बनाउन पुस्तकजन्य पाठ्यसामग्रीको ग्रहण अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । प्राचिन समयमा प्राप्त गरेको ज्ञान,सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर,मस्जिद,गुम्बाचैत्य,पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचलन गरिँदै आएको छ,जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रुपमा लिइन्छ ।
राजनीतिक, सामाजिक र शैक्षिक रुपमा अग्रणी जिल्लाको रुपमा चिनिएको झापामा २००७ सालको परिवर्तनपछि दर्जनौँ स्थानमा पुस्तकालय खोलिएका थिए । प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएको पञ्चायतकालीन अवस्थामा समेत झापाका चेतनशील युवाले गाउँगाउँमा पुस्तकालय र बाचनालय खोलेर राजनीतिक आन्दोलनलाई ऊर्जा भर्ने कार्य गर्दथे। तर अहिले नयाँ पुस्तकालय खोल्ने क्रम ठप्प जस्तै छ भने पुराना र ऐतिहासिक महत्व बोकेका पुस्तकालय समेत बन्द हुने अवस्थामा पुगेका छन् ।
शाखा विस्तारमा दमक पब्लिक लाइब्रेरी
पाठक नपाउने समस्या झेलिरहेका पुस्तकालयको बेला अपबाद बनेको छ झापा,दमकको पब्लिक लाइब्रेरी । यो पुस्तकालय स्थानीय साहित्यकार तथा युवा पाठकहरुको सक्रियतामा राम्रैसँग सञ्चालन भइरहेको छ । विसं २०६९ सालमा स्थापित दमकको पब्लिक लाइब्रेरीमा सातहजार पुस्तक रहेको र पाठकका रुचि समेट्ने खालका नयाँ पुस्तक समेत राखिएका कारण पाठक नघटेको अध्यक्ष भेषराज न्यौपानेले बताए । अहिलेपनि दैनिक २० देखि २५ जना पाठक आउने गरेको उनले जानकारी दिए । विशेष गरेर रिटायर कर्मचारी, विद्यार्थी र खोज अनुसन्धानका युवाहरु पाठक रहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।
दमक पब्लिक लाइब्रेरीले अहिले झापाको कमल, दुधे, दमकबाहेक बाहिरी जिल्ला पोखरा, बुटवल, चितवन, विराटनगर, इटहरीलगायत १२ वटा शाखा स्थापना गरेर पुस्तकालय विस्तार गरिएको न्यौपानेले बताए । उनले भने ,–‘ बौद्धिक विनाको मान्छे टाउको विनाको मान्छे जस्तै हुने भएकाले पुस्तकालयको महत्व घट्न नदिन राज्यपक्ष समेत गम्भिर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published.