दमक,२१ पुस । दमक -७ का ३१५ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा दिनका लागि आज विहिबारदेखि जग्गाको निस्सा वितरण कार्य शुरु गरिएको छ ।
दमक ७ को वडा कार्यालय परिसरमा एक कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले निस्सा वितरण कार्यको शुभारम्भ गरे ।निस्सा वितरण गदैं नगर प्रमुख थापाले स्थानीय सरकार नगरबासीहरुको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नका लागि सधैं साथमा रहेको बताए । उनले जग्गाको निस्सा वितरणको काम यसअघिनै सक्ने तयारी रहेको भएपनि राष्टिय तथा प्रदेश तहका निर्वाचनका कारण काम रोक्नु पर्ने बाध्यताका कारण केही समय ढिलो हुन गएको पनि उल्लेख गरे।
उनले जग्गाको स्वामित्व प्राप्तीका लागि निस्सा प्राप्त गर्नु अनिवार्य भएको चर्चा गर्दै सबै नगरबासीहरुले यसलाई महत्वसाथ लिनु पर्ने सुझाए ।
कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भटटराई प्रसाइँले नागरिकहरुका मौलिक हकका रुपमा रहेका सबै हकहरुको संरक्षणको दायित्व स्थानीय सरकारको भएकाले यो दायित्वबाट नगरपालिका पछि नहटने उल्लेख गरिन् । उनले नगरपालिकाले जनमुखी र नगरबासी बालबालिकादेखि बृद्धबृद्धा सम्म महिला पुरुष सबैका लागि ल्याएका कार्यक्रमहरुबारे सुसुचित हुँदै सहभागी बन्न आग्रह गरिन् ।
दमक -७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले २०५३ सालताका सो भुगोलमा अत्यन्तै न्यून संख्यामा भुमिहिन सुकुम्बासीहरुको संख्या रहेको भएपनि त्यसयता ठुलो संख्यामा सुकुम्बासीहरुको बसोबास यस वडामा रहेको तथ्याकंले देखाएको बताए । उनका अनुसार जग्गाको धनीपूर्जा प्राप्तीका सो वडामा ५५६ जनाले वडा मार्फत आयोगमा निवेदन पेश गरेको जानकारी दिदैं ३१५ बाहेकका अन्य निवेदनहरुमाथि पनि सुक्ष्म छानबिन गरेर धनीपूर्जा प्रदान गर्ने प्रकृया अघि बढाइने छ ।
सो अवसरमा दमक शहर सुदृढीकरण समिति संयोजक प्रकाश प्रसाइँले यहाँँका साझा समस्याहरुको समाधानका लागि सबैले फराकिलो सोच बनाएर अघि बढनु पर्ने औंल्याए । यसअघि वडाले भूमि आयोगको समन्वयमा दमक ४,१०,९ लगायतका वडामा समेत लक्षित समुदायलाई समेत सोहि किसिमको निस्सा प्रमाणपत्र वितरण गरिएको थियो ।