बिर्तामोड,२० पुस । बिर्तामोड –३ सैनिकमोडमा आठौं भाक्का दिवस मनाइएको छ । भाक्का दिवसको अवसरमा आयोजित भाक्का उत्सवमा १ हजार सर्वसाधारणले भाक्का खाएका छन् ।
पूर्वेली मजदुर यातायात प्रालि र बन्दगी युवा परिवारले बिर्तामोड– ३ सैनिकमोडको विराट सहकारी भवन अगाडि आयोजना गरिएको भाक्का उत्सवमा भाक्का खानेहरुको उल्लेख्य भीड लागेको थियो । आयोजकले २ सयको सहभागिता हुने अपेक्षा गरे पनि करिव १ हजार जनाले सहभागिता जनाएका थिए ।
तराईको लोकप्रिय परिकारका रुपमा स्थापित भाक्का चिसो मौसममा खाने चलन छ । स्वादिष्ट तातो भाक्काको स्वाद लिन बिहानैदेखि भाक्का उत्सवमा सर्वसाधारणहरुको भीड लागेको थियो । स्थानीय राजवंशी महिलाहरुले सहभागीहरुलाई भाक्का बनाएर खुवाएका छन् ।भाक्का उत्सवमा बिर्तामोडका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी र सर्वसाधारणको सहभागिता रहेको थियो ।
बिर्ताबजारस्थित विराट सामुदायिक सिकाई केन्द्र र हिमालय एभरेष्ट इन्सुरेन्स प्रालिको सहयोगमा आठौ राष्ट्रिय भाक्का दिवस मनाइएको पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बाँस्कोटाले जानकारी दिए । उनका अनुसार ८५ केजी चामलको पिठोबाट भाकका बनाइएको थियो ।भाक्का उत्सवमा सर्वसाधारणलाई केराको पातमा भाक्कासंगै टमाटर र धनियाको अचार वितरण गरिएको थियो ।
बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजवंशीको अध्यक्षता तथा बिर्तामोड -३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली , नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई , पत्रकार इन्द्रसिंह राजवंशीले मन्तव्य राखेका थिए ।